
नवराज घिमिरे
२१ कार्तीक , बारा: नम्बर प्लेट नै परिवर्तन गरेर चुनावी प्रचारमा सरकारी गाडीको दुरुपयोग गरेको चर्चा नसेलाउँदै बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरीले फेरिपनि आचारसंहिता उल्लंघन गरेका छन् ।


बारा १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार चौधरीको चर्को डिजे सहित चुनाव प्रचार गरेर आचारसंहिता उल्लंघन गरेका हुन् । प्रचारप्रसारकै क्रममा डिजे सहितको मन्त्री चौधरीको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । चर्को डिजे सहित प्रचारप्रसार गरेर आचारसंहिता उल्लंघन नगर्ने सर्त सहित सम्झाई बुझाई गाडी छाडेको बारा प्रहरीले जनाएको छ ।
केहिदिन अघि मात्र सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर आचारसंहिता विपरित चुनावी प्रचार गरेको भन्दै मन्त्री चौधरी गाडी खोसिएको थियो । उनले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका थिए ।
आचारसंहिता विपरित बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर बा १२ च ७४३१ नम्बरकोे निजि (रातो) नम्बर प्लेट राख्दै दुरुपयोग गरेको समाचार बाहिरिए पछि आयोगले गाडी नियन्त्रणमा लिएको हो । उक्त निजि नम्बर मेलम्ची आयोजनाले खरिद गरेको टोयोटा ल्याण्ड क्रुजर प्राडो जिपको हो ।
जीप भिए टेक वावाग प्रतिभा ई जे भीको नाममा बाग्मती प्रदेशमा दर्ता छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका प्रमुख पर्शु पोखरेलले खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिई खानेपानी मन्त्रालयमा फिर्ता पठाइसकेको जानकारी दिए ।
यसैविच बारा निर्वाचन क्षेत्र नं ४ (क) का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी गाडी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।
स्थानीय प्रशासनको आदेशमा इलाका प्रहरी कार्यालय सिमराको टोलीले विश्वकर्मा चढेको गाडी औराहास्थित उनको घरबाट शुक्रबार नियन्त्रणमा लिएका हो । निवर्तमान प्रदेशसभा सदस्य विकले नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वरुप सरकारी गाडी सुविधा पाएका थिए । तर, प्रदेशसभा सदस्यको कार्यकाल सकिए ता पनि गाडीको सुविधा छोडेका थिएनन् ।
विकले १ वर्षअघि २–०२ ००१ झ ००८८ नम्बरको सरकारी स्कारपिओ गाडी प्रयोग गर्दै आएका थिए । निर्वाचन नजिकिंदै गर्दा तिव्र बनेको चुनावी प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै गाडी खोसिएको हो ।
यसैविच चर्काचर्का आवाजमा डिजे बजाउँदै निर्वाचन प्रचार गरिरहेका ४ जना स्वतन्त्र उम्मेदवारको गाडी डिजे सहित प्रहरीले बरामद गरेको छ । आचारसंहिता उल्लंघन गर्दै चर्का आवाजमा बजाइएका डिजे सेट बरामद गरेर तिनका समर्थक लाई सम्झाएर पठाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त राजेश थापाले जानकारी दिए ।