पुष्पराज खतिवडा
२३ कार्तिक ,बारा: मंसिर ४ का लागि बारा क्षेत्र नं. ३ मतदाताको विशेष चासोमा छ । बाम–लोकतान्त्रिक गठबन्धन, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) का उक्मेदवार बीचको त्रिपक्षीय भिडन्त रहेको यो क्षेत्रलाई मतदाताले विशेष चासोका साथ हेरिरहेका छन् ।
नेकपा एमालेबाट पूर्वमन्त्री ज्वालाकुमारी साह, जसपाका पूर्वसांसद रामबाबुप्रसाद यादव र बाम लोकतान्त्रिक गठबन्धनबाट संविधानसभा सदस्य लालबाबु सिंह चुनावी मैदानमा छन । क्षेत्र नं. ३ मा आफना् पक्षले जित्ने सबैको दाबी छ । तर हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दा एमाले उमेदवार पूर्वमन्त्री साहको जित सुनिश्चित जस्तै रहेको एमाले कार्यकर्ताहरु बताउँछन् ।
यो निर्वाचन क्षेत्रमा जिल्लाको कलैया उपमहानगरपालिकाका वडा नं.१७ बाहेकका २६ वटा वडा, जितपुरसिमरा उपमहानगरपालिकाको ११, १२, १३, १४, १५, १६, १७ र १८ का साथै फेटा गाउँपालिकाका ५, ६, ७ नं. वडाहरुसहित ३७ वडाहरु पर्दछन् ।
गत स्थानीय तहको निर्वाचनमा क्षेत्रमा रहेका ३७ वडाहरु मध्ये एमाले एक्लैले १४ वडामा जितेको छ, भने अधिकांशमा एमालेका उम्मेदवारहरुनै निकटतम प्रतिद्धन्दी बनेका थिए । । यो आधारबाट हेर्दा एमालेको जितको पहिलो आधार नै हो भन्ने देखिन्छ ।
एमालेले जित्ने दोस्रो अधारको रुपमा एमाले एक्लैले यो क्षेत्रमा २१ हजार १९१ मत पाउँदा जसपाले जम्मा ११ हजार ८० मत पाएको छ ।
तर स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएर पनि कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार नपाएकोले उसको मत विभाजित हुने अवस्था छ । गठबन्धन भित्रको ठुलो शक्ति काँग्रेसले लोसपाका उम्मेदवार लालबाबु सिंहलाई समर्थन गरेको छ ।
गत बैशाखमा भएको निर्वाचनमा गठबन्धनले यो क्षेत्रमा ३० हजार ५७७ पाएको थियो । जसमध्ये काँग्रेस एक्लैको १७ हजार ६५१ मत रहेको छ । यस्तै लोसपाले यस क्षेत्रमा २ हजार १२४ मत पाउँदा नेकपा माओवादीले ७ हजार ३८४ पाएको छ भने नेकपा एकीकृत समाजवादीले ३ हजार ३९७ मत पाउँदा चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले १० मत मात्रै पाएको देखिन्छ ।
लोसपाकै लालबाबु सिंह प्रतिनिधिसभा उमेदवार समेत हुन् । स्थानिय तह चुनावमा पाएको मतले उनको आफ्नै दलीय धरालत निकै कमजोर देखिन्छ । काँग्रेस सहित गठबन्धनका अन्य दल समर्थक मतदाताले ईमान्दारी देखाए भने उनको वियज यात्रा टाढा भने छैन । तर त्यो संभावना देखिएको छैन ।
दलहरुले स्थानीय निर्वाचनमा पाएको मतलाई आधार मान्दा जसपाका उमेदवार रामबाबुकुमार यादव प्रतिनिधिसभा सदस्य निर्वाचनका सबै भन्दा कमजोर देखिनुभएको छ । उहाँ अहिले भने एमाले र गठबन्धनको असन्तुष्ट मत आफुतिर आउनेमा विश्वस्त देखिनुभएको छ ।
तर त्यसो हुने संभावना नभएको एमाले नेता अनिल मैनालीले बताउनुभयो । उहाँले सबै भन्दा बलियो रहेको कांग्रेशको उम्मेदवारी नदिएर कमजोर रहेको लोससासंग गठबन्धन गरेपछि एमाले उम्मेदवार साहलाई जितको लागि सहज वातावरण बनेको बताउनुभयो ।
यद्यपि चुवान नजिकँदै गर्दा जसपाका उम्मेदवार यादवले गरेका केही कामले उत्तरी क्षेत्रका मतदाताको मन भने जितेको छ । वषौं अलपत्र परेको बालगंगा पुल संचालनमा ल्याउन अगुवाई गरेका यादवले टाँगियावस्तिमा विद्युतीकरणको लागि पनि मद्दत गरेका छन । अघिल्लो निर्वाचनमा कम मत प्राप्त गरेका यादवले यसपटक भने उत्तरी क्षेत्रबाट उत्साहजनक मत पाउने देखिन्छ ।
यद्यपि एमाले कार्यकर्ताहरुले भने यस कामको जस यादवलाई मात्र नजाने र पुलको योजना पार्ने एमाले र विगत लामोसमयदेखि डेलिगेस जाने, कार्यक्रम पार्ने एमाओवादी, एमाले र खुद टाँगियाका स्थानीय अगुवाहरुको भूमिका महत्वपूर्ण रहेको र उक्त क्षेत्रको मत पनि सोही अनुसार विभाजित हुने बताउँछन् ।
गठबन्धनमा रहेका दलहरुको गत स्थानिय निर्वाचनमा पाएको एकमुष्ठ मत ३० हजार ५६६ हुन आउँछ । यस अर्थमा गठबन्धनका उम्मेदवार लालबाबुलाई सहज देखिए पनि परिस्थिति भने सहज नभएको नाम नछाप्ने शर्त एक जना काँग्रेस नेताले बताए ।
उनका अनुसार सिंहको दल लोसपासँग सो क्षेत्रमा एक चौथाई पनि मत छैन । चुनाव नजिकँदै गर्दा लोसपाका कार्यकर्ताले जसपा र एमाले रोजी रहेकाले लोसपा उम्मेदवारलाई चुनाव जित्न त्यति सहज नभएको उनको तर्क छ ।
यस्तै गठबन्धनभित्रको नेकपा माओवादी र नेकपा (एस) को पनि हालत लोसपाकै जस्तो भएको छ । ‘प्रभावशाली नेताहरु एमाले प्रवेश गरिरहेका छन् । नेकपा एसका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा सहितका दर्जनौं प्रभावशाली नेता एमाले फर्किएकाले गठबन्धनका उम्मेदवार सिंहको जित सहज नदेखिएको अवस्था छ ।’ ती नेताले भने ।
अर्कोतर्फ बलियो शक्ति काँग्रेस भित्रको आन्तरिक कलहको प्रभावले मतदाता विभाजित हुने चर्चा चलिरहेको छ । काँग्रेसमा गत महाधिवेशनदेखि नै शेखर कोइराला र सभापती देउवाको संस्थापन पक्ष बीचमा चर्को विवाद रहँदै आएको छ । यी सब कारण पनि एमालेकी साहको जितमा मद्दत पुग्ने कतिपयले विश्लेषण गरिरहेका छन् ।
अर्कोतर्फ यस पटकको निर्वाचनमा जातीय कुराहरुले समेत प्रभाव पार्ने देखिएको छ । यादव र अन्य जातीबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको एक नेताले बताए । भूगोलको हिसावले क्षेत्र नं.३ को ७५ प्रतिशत भूभाग कलैया उपमहानगरपालिमा पर्दछ ।
कलैयाले २०७५ मा प्रकाशित गरेको पाश्वचित्रमा उल्लेखित तथ्यांकलाई हेर्ने हो भने सो पालिकामा सबैभन्दा धेरै १९.२० प्रतिशत मुसलमान, १०.८६ प्रतिशत यादव, ६. ६८ कानु र ६.१० तेली समुदायको बसोबास छ ।
१९ प्रतिशत बढी बसोबास रहेको मुसलमान समुदायले एमाले मुसलमानप्रति उदार रहेकाले यसपटकको भोट एमालेलाई दिने बताएका छन् । मुसलमान समुदायको यसपटको भोट एमालेलाई जाने कलैया उपमहानगरपालिका २४ का कमरुल देवानले बताउनुभयो ।