नवराज घिमिरे
२८ कार्तीक , बारा: जनता मध्यामिक विद्यालय रजघट्टामा राष्ट्रिय महिला आयोगले महिला हिंसा निवारणको उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरेको छ ।
विद्यालयमा हुने महिला हिंसा निवारण विषयक शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापनका पदाधिकारी विचको अभिमुखिकरण कार्यक्रम सोमबार बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ रजघट्टामा सम्पन्न भएको भएको हो । जनता मध्यामिक विद्यालय रजघट्टामा राष्ट्रिय महिला आयोगले अभिमुखिकरण आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले संस्कृतिका रुपमा पुरातन विकृतीलाई समेत अँगाल्ने परिपाटिले महिला हिंसा घट्न नसकेको दावि गरे । उनले धार्मीक ग्रन्थहरुमा उल्लेखित विभेदपूर्ण विषयलाई समय सापेक्ष रुपमा परिमार्जन गर्नसके मात्रै सोचे अनुरुपको हिंसा रहित समाज बनाउन सम्भव हुने बताए ।
विभिन्न विद्यालयका छात्रछात्रा सहितका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी सहभागि भएको कार्यक्रममा विभिन्न विषयका दृश्य सामग्री प्रस्तुत गरिएको थियो । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले साइबर क्राइम के हो ? यस अन्र्तगत कस्ता कस्ता अपराध पर्छन् ? कारबाहिको व्यवस्था र सामाजिक सञ्जालको सदुपयोग गर्ने तरिकाहरुबारे जानकारी गराएका थिए ।
त्यस्तै नेपाल राष्ट्रिय माध्यामिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले हिंसा पहिचान तथा निवारणका लागि गर्न सकिने प्रयासका बारेमा सामग्री प्रस्तुत गरेका थिए । उनले हिंसा के हो ? कति किसिमका हुन्छन् ? हिंसा न्युनिकरणका लागि शिक्षक र विद्यालयले के कस्ता प्रयासहरु गर्न सक्छन् भन्ने विषयमा वृस्तित जानकारी गराएका थिए । प्रअ अधिकारीले आफ्नो विद्यालयमा अध्ययनरत एक हजार भन्दा बढि विद्यार्थीलाई हिंसा रहित वातावरण दिन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जानए ।
राष्ट्रिय महिला आयोगका मनोसमाजिक परामर्शकर्ता पार्वती सुवेदीले बदलिंदो परिवशले अधिकाँश बालबालिकालाई मनोरोगी बनाएको दावी गर्दै यो अवस्था सुधार्न सबैको भुमिका महत्वपूर्ण रहेको बताइन् । सम्बन्ध विच्छेद पछि एकल आमाबुबासँग बसेका सन्तान, कम उमेरमा गरिने / हुने विवाह, परनिर्भरता, भावनात्मक सम्बन्धमा आएको ह्रास लगायतका विविध विषयले मन अस्वस्थ हुने बताउँदै यसको रोकथामले आत्महत्याका घटना उल्लेखनिय रुपमा घट्ने उनले बताइन् ।
जीतपुरसिमरा १४ का वडाध्यक्ष चयन गुरुंग मगर, छात्रा अर्चना सापकोटा, छात्र दिपक कुमार पटेल, शिक्षिका गिता थपलीया, शिक्षक किशोरीलाल बछार लगायतले कार्यक्रमबारे आफ्नो धारणा राख्दै धेरै विषयमा जानकार र सजग बनाएको बताए । कार्यक्रममा पत्रकार विदुर खड्काले सचेततामुलक गित गाएका थिए ।
कार्यक्रमको अध्यक्षता गरिरहेकी आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले छात्रछात्राहरु घरेलु हिंसा भइरहेको बेला मुकदर्शक भएर बस्ने गर्दा हिंसा बढ्ने तथा तिनका मनोविज्ञानमा नकारात्मक असर पार्ने बताइन् । सोहि अवस्थाको अन्त्य गर्न आवस्यकतानुसार आवाज उठाउने तथा हिंसाबाट आफ्ना घरका महिलाहरुलाई जोगाउने अवस्थाको परिकल्पना स्वरुप यो कार्यक्रम आयोजना गरेको उनको दावि छ ।