पुष्पराज खतिवडा
४ मंसिर, बारा: बारामा ६६.८६ प्रतिशत मतदान भएको निर्वाचन कार्यालय बाराले जनाएको छ ।

४ लाख ३३ हजार ५०५ मतदाता मध्य २ लाख ८५ हजार ८४१ जनाले मतदान गरेका छन् । जसमध्य १ लाख ५२ हजार ६४ जना पुरुष , १ लाख ३३ हजार ७७६ जना महिला र १ जना अन्यले मतदान गरेको निर्वाचन कार्यालय प्रमुख सरोज चौधरीले जानकारी दिए ।

जिल्लाका ३०५ मतदान केन्द्रबाट सम्बन्धीत मतगणना केन्द्रमा मतपेटीका संकलन गर्ने काम समेत भैरहेको छ । केहीबेर सम्ममा सबै केन्द्रहरुमा मतपेटीका पुगिसक्ने र मतगणना आजैबाट सुरु गर्ने तयारी भएको उनले बताए । जिल्लाको ४ क्षेत्र मध्य १को सिम्रौनगढ, २ को वरियारपुर ,३ को कलैया र ४ को सिमरामा मतगणना हुने छ । जती सक्दो छिटो मत परिणाम आउने गरी मतगणनालाई चुस्त बनाईएको छ, चौधरीले भने ।

निर्वाचनका क्रममा बारा क्षेत्र नं.१(ख) अन्तरगत सिम्रनगढ नगरपालिका १ देवापुर स्थति मतदान केन्द्रमा ७४ वटा प्रदेशसभा समानुतपातिक मतपत्र प्रतिनिधिसभाको मतपेटीमा खसेपछी विवाद भएको थियो ।

विवादका विच केही बेर मतदान प्रकृया रोकिएपनि नेपाली सेनाको सहजीकरणमा राजनैतिक दलहरु र मतदान अधिकृत विचको सहमतीपछि पुनः केही बेरमै मतदान सुचारु भएको थियो । उक्त बाकसलाई छुट्टै शिल गरी दुबै मतलाई मान्यता दिने सहमती भएको दलहरुले विज्ञप्ती मार्फत जानकारी गराई सकेका छन्, चौधरीले भने ।

यस्तै महागढीमाई नगरपालिकाको एक मतदान स्थलमा समेत मतपेटीकाको विषयलाई लिएर केही बेर विवाद भएको स्थानियले बताएका छन् । प्रयोगमा रहेको मतपेटीका फुटेको पाईएपछी विवाद भएको हो । तर सबै प्रतिनिधीको रोहबरमा लगतै अर्को पेटीका झिकाई पुनः मतगणना सुरु भएको थियो ।

छिटपुट घटना बाहेक बारामा समग्रमा शान्तीपूर्ण मदतान सम्पन्न भएको निर्वाचन कार्यालय प्रमुख चौधरीले जानकारी दिए । मतदान कँहीकतै लामो समय स्थगन नभएको उनले बताए ।

निर्वाचनका लागि बारामा ६ हजारबढी शुरक्षाकर्मी परिचालन गरिएका थिए । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपाल प्रहरी, शसन्त्र प्रहरी र नेपाली सेना परिचान गरिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए ।

बारामा एकाद ठाउँमा सामान्य छिटपुट घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उनले जानकारी दिए । मतपेटीका संकलन भैरहेको र सबै मतपेटीका केन्द्रमा आइपुगेपछी सर्वदलिय बैठक बसेर मतगणना सुचारु हुन्छ , उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय