बारा: चार निर्वाचन क्षेत्रमध्ये दुई वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् भने अन्य दुई क्षेत्रमा नेकपा एकिकृत समाजवादी र स्वतन्त्र उम्मेदवार अग्र स्थानमा छन् ।

बाराको क्षेत्र नं. १ मा एमाले उम्मेदवार अच्युत मैनाली र क्षेत्र नं. ३ मा ज्वालाकुमारी साहले सुरुवात लिएको अग्रता कायम राखेका हुन् । अग्रता लिने दुवै नेता एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज हुन् ।

मैनालीले क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीलाई दुई हजार तीन सय २४ मतले पछि पारेका छन् । मैनालीले आठ हजार नौ सय ३१ मत प्राप्त गर्दा चौधरीले ६ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् । चौधरी नेपाल सरकारको खानेपानी मन्त्री र नेपाली कांग्रेसको सहमहामन्त्री हुन् ।

यसैगरी क्षेत्र नं. ३ मा साहले ६७ मतले अग्रता लिएकी छिन् । साहले तीन हजार आठ सय ६९ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले तीन हजार आठ सय दुई मत पाएका छन् । मधेस प्रदेशको क्षेत्रमा तालमेल गरेको एमाले र जसपा यस क्षेत्रमा भने मित्रवत प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रमा तेस्रो स्थानमा गठबन्धनतर्फबाट लोसपाका उम्मेदवार लालबाबु सिंह छन् । उनले दुई हजार तीन सय दुई मत प्राप्त गरेका छन् ।

यता बारा क्षेत्र नंं ४ मा नेकपा एकिकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठले सुरुवाती अग्रतालाई कायम राखेका छन् । श्रेष्ठले पाँच सय १७ मतले अग्रता लिएका छन् । श्रेष्ठले दुई हजार सात सय मत प्राप्त गर्दा एमाले उम्मेदवार एकवाल मियाँले दुई हजार एक सय ८३ मत पाएका छन् ।

यसैगरी बारा क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार अगाडी देखिएका छन् । सत्तारुढ गठबन्धन र एमाले–जसपा तालमेलको उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार रामकिशोर अग्र स्थानमा छन् । यादवले दुई हजार दुई सय ५३, गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहाले एक हजार आठ सय १७ र जसपाका उम्मेदवार रामसहाय यादवले एक हजार ७८ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय