२० मंसिर, बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को उचिडीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । सेवाकेन्द्रको मंगलबार विहान उपमहानगर प्रमुख राजन पौडेलले रिवन काटेर समुद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पौडेलले नगरले दिने सेवा सहजीकरणका लागि काम भैरहेको बताउनु भयो । “हामी सहज सेवाका लागि सिस्टम विकासलाई प्राथमिकतामा राखेर काम गरिरेहका छौं । जनताका काम छिटो, छरितो, सुलभ बनाउने विषयलाई केन्द्रमा राखेर निति निर्माणमा छौं,” मेयर पौडेलले भन्नु भयो ।
“डोजर लिएर अर्काका घरका भित्ता फोर्ने र कुचो लिएर सडक सफागर्ने कामलाई मात्रै काम देख्ने गलत परिपाटी बसेको छ । जुन कुरा राम्रो अनी मेयरको होईन । मेयरले नगरको समग्र क्षेत्रको विकासलाई सिस्टममा ल्याउन संयोजन गर्ने हो । हामी त्यसैमा जोड दिदैंछौं र दिनुपर्छ,” उहाँले भन्नु भयो ।
कार्यक्रममा नगर जनस्वाथ्य अधिकृत रवी कुमार भाष्करले सरकारको वडाहरुमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अनुसार स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको बताउनु भयो । केन्द्रबाट हाल २ जना स्वास्थ्यकर्मीले सेवा दिने छन् । क्षयरोग विरुद्धको औषधीसँगैं ३५ प्रकारका औषधी र १२ प्रकारका खोपसेवा संचालन हुनेछ । गर्भवती परिक्षण सेवा सहित सरकारले दिने अन्य सेवा नियमित रुपमा स्वास्थ्य केन्द्रबाट पाईने उहाँले बताउनु भयो ।
कार्यक्रममा नगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष संजय साह, नगर जनस्वास्थ्य कार्यालय सिमराका सिनियर अहेव अधिकृत जीतन ठाकुर, नगरपालिका वडा नं.१८ पूर्व अध्यक्ष अर्जुन दाहाल, वडा सचिव सीमा उप्रेती, स्थानिय सामाजिक अगुवा राम न्यौपाने, कमला कुमारी न्यौपानै, बसन्त खतिवडा, लक्ष्मीमाया वल, चेत बहादुर आले, शिव ढुँगाना लगायतकाले बोलेका थिए ।
वक्ताहरुले ग्रामिणक्षेत्रको स्वास्थ्य समस्यालाई दर्शाउँदै कम्तीमा ५ शैयाको अस्पताल आवश्यक भएको बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बजारमात्रै नभएर ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिदिन नगरप्रमुखसँग स्थानियले माग गरे ।
कार्यक्रम वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षता, युनिभर्स यूथ क्लब दि रुरलका अध्यक्ष कविराज वाग्लेको स्वागत एवं स्थानिय समाजसेवी विष्णु प्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।