नवराज घिमिरे
२५ मंसिर, बारा: राष्ट्रबैँकको गलत नीतिका विरुद्ध बाराको जीतपुरसिमरा उप– महानगरपालिकाका व्यवसायीहरु आन्दोलनमा उत्रिने भएका छन् ।
ब्याजदर अत्याधिक वृद्धि गरेर व्यवसाय धरासायी बनाउन लागेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिने भएका हुन् । नगर उद्योग वाणिज्य सँघ र चेम्वर्स अफ कमर्समा आवद्ध व्यवसायीहरुले उक्त नीतिको विरोध गर्दै आन्दोलन गर्ने बताएका हुन् ।
शनिबार सिमरास्थित होटल सिमरा इनमा बसेको व्यवसायीहरुको भेलाले यही मंसिर २६ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने सहमति गरेका छन् । भेलाले राष्ट्र बैँकको चालु कर्जा पुँजि मार्गदर्शन २०७९ खारेजीको माग राख्दै सरकार र राष्ट्र बैँकको नीति विरुद्ध आन्दोलन गर्ने सहमति भएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।
उद्योग व्यवसाय सञ्चालनमा अवरोध नहुने गरी केन्द्रको आन्दोलनलप्रति ऐक्यवद्धता जनाउँदै मंसिर २६ गते ब्यानरसहित १ घन्टा शान्तिपूर्ण प्रदर्शन गर्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने योजना बनाइएको चेम्वर्स अफ कमर्शका अध्यक्ष रुपेश पोख्रेलले जानकारी दिए ।
चालू पुँजि कर्जासम्बन्धि राष्ट्र बैंकको नयाँ नितीका कारण व्यवसायीहरु आत्महत्या गर्न बाध्य हुँदासमेत सरोकार मौन रहनुको विरोधमा आन्दोलन गर्न बाध्य बनेको व्यवसायिहरुको भनाई छ । बैंक तथा बित्तीय सँस्थाले व्यावसायीहरुलाई गरेको बिभेदपूर्ण व्यवहारले व्यवसाय धरापमा पुग्दापनि सरोकारवाला एवं सबन्धित निकायको ध्यान पुग्न नसकेको भन्दै मार्गदर्शन २०७९ लाई खारेज वा २ बर्ष पछि सार्न गरेको अनुरोधलाई वेवास्ता गर्नु निन्दनिय रहेको उनीहरुको तर्क छ ।
वर्षको ४ पटक क्लोजिंगका नाममा मानसिक तनाव दिने बैंकहरुले उत्पादन एवं सेवामुखी उद्योग व्यवसायलाई कम ब्याजदरमा कर्जा प्रवाह गरेर निर्यात वृद्धि गरेर आयात प्रतिस्थापन गर्दै बिदेशी मुद्रा आर्जन गर्न सकिनेतर्फ उचित कार्यबिधि नै बनाएर अगाडि बढ्नुको विकल्प सरकारसँग नरहेको व्यवसायिहरुको ठहर छ ।
राष्ट्र बैँकको चालु कर्जा पुँजि मार्गदर्शन २०७९ खारेजीको माग सहित देशैभर निजी क्षेत्रका संघ सँस्थाहरुको पहलमा जिल्ला, नगर स्तरीय उद्योग बाणिज्य संघहरुले गरेको आन्दोलन प्रति समर्थन र ऐक्यबद्धता जनाउँदै आफुहरु पनि आन्दोलनमा उत्रेको यहाँका व्यवसायीहरुले बताएका छन् ।
आन्दोलनका कार्यक्रम तय गर्न आयोजित कार्यक्रममा स्थानिय होटल तथा पर्यटन व्यवसायी, यातायात व्यवसायी, सिने व्यवसायी, लँण्ड्री व्यवसायी, जग्गा व्यवसायी, सुनचाँदी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।