पुष्पराज खतिवडा
५ पौष २०७९
बाराका ब्यवसायीले नेपाल राष्ट्र बैंकले जारी गरेको चालुपूँजी कर्जा मार्गदर्शन २०७९ खारेजीको माग राख्दै गर्दै आएको आन्दोलनलाई जारी राखेका छन् । जितपुरसिमरा नगर उद्योग बाणिज्यको अगुवाईमा भैरहेको आन्दोलनका क्रममा मंगलबार बाराको डुमरवानमा ब्यवसायीले कर्जा मार्गदर्शनका विरुद्ध हस्ताक्षर संकलन गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले राष्ट्र बैंकको मागदर्शनले साना ब्यवसायी मारमा परेको बताए । “मार्गदर्शन आएसँगै बैंक वित्तिय संस्थामा कर्जाको ब्याज दर बढेको छ । हिजो कमाईको केही अंश ब्याज तिर्ने ब्यवसायी आज कमाएको सबै ब्याजमा तिर्न बाध्य बनेका छन् । जस्का कारण साना ब्यवसाय धरासायी हुने अवस्था आयो,” शर्माले गुनासो गर्नु भयो ।

कोरोना महामारीबाट तंग्रिन थालेका ब्यवसायीलाई राष्ट बैंकको मागदर्शन गलपासो बनेको नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले गुनासो गर्नुभयो । “हामी ब्यवसाय बन्द गरेर सडकमा आउनु विकल्प देखिएन । राज्यले समस्याका उचित र छिटो समाधान गरोस् भन्न चाहन्छौं । हामी साना ब्यसायी महँगो कर्जा चलाउन सक्दैनौं । बैंकलाई निर्दयी ढंगले परिचालन गर्ने राष्ट्र बैंकले हाम्रा समस्या बुझिदियोस् भन्ने हामी चाहन्छौं, ” महासचिव गिरीले भन्नु भयो ।

हस्ताक्षर संकलन कार्यक्रममा सहभागि साना ब्यवसायीहरुले कोरोना महामारी,आर्थीक मन्दी, त्यसमाथी कर्जामा गरिएको ब्याज वृद्धिले समस्या बनाएको बताए । यहीताल रहीरहे ब्यवसाय छाडेर अन्यत्र पलाय हुनपर्ने अवस्था आउछ । राज्यले समयमै ध्यान दियोस् अर्का ब्यवसायी प्रदिप चौधरीले सुनाउनु भयो ।

जिल्लाका विभन्न ठाउँबाट संकलित हस्ताक्षर राष्ट्र बैंक गर्भनर, संघिय सरकारका अर्थमन्त्री र प्रधानमन्त्रीलाई बुझाईने नगर उद्योग बाणिज्य संघका अध्यक्ष शर्माले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय