नवराज घिमिरे
पुष ५, बारा
निकुञ्जको कोर क्षेत्रमा वन्यजन्तु चोरी सिकारी गरिरहेका ५ जना सिकारी बन्दोबस्तीका सामानसहित पक्राउ परेका छन् । वन्यजन्तु चोरी सिकारी गरिरहेकै अवस्थामा उनिहरुलाई पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले नियन्त्रण लिएको हो ।
वन्यजन्तु चोरी शिकारी गरि रहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाँउका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी १ का ३७ वर्षीय कापसदास थारु,बारा सखुवा प्रसौनीका ४४ वर्षीय नवराज बस्नेत, र खिटावल गाविस ८ टावलका ५२ वर्षीय मालदोङ तमाङलाई नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जको पर्सा क्षेत्रको गरुडा लाइन नजिकैबाट पक्राउ परेका ५ जना सिकारीको साथबाट २ लाख ९० हजार ६७० नगद रकम ल्याण्डक्रुजर र बलेरो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिंङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको राउन्ड १ वटा, हतियार राख्ने झोला २ वटा, हतियारको अन्य डकुमेन्ट, नाइट भिजन क्यामरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कर्पाटमेन्ट, टर्च लाईट, मोवाईल (आईफोन) ३ थान, मदिरा र अन्य कागजपत्रहरु नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका रेन्जर विष्णु पौडेलको नेतृत्वमा सेना सहितको टोलीले सोमबार राती प्राप्त सूचनाका आधारमा करिब ४ घन्टाको मेहनतपछि बस्दोबस्तीको सामानसहित चोरी सिकारीलाई नियन्त्रणमा लिन सफल भएको हो । चोरी शिकारीमा ल्याडक्रुजर, बरेलो गाडी, नाईट भिजन क्यामरादेखि मदिरा, आईफोन सम्म बरामत हुदाँ यो घटनामा सामान्य व्यक्तिको नभइ ठुलो माफियाको संग्लनता हुनसक्ने निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जनाएका छन् ।
पर्सा राष्ट्रिय निुकञ्जभित्र वन्यजन्तुसहित यति ठुलो परिणाममा बस्दोबस्तीको सामान चोरी सिकारी नियन्त्रणमा लिएको यो दोस्रो घटना हो । यसअघि मकवापुर क्षेत्रमा वन्यजन्तु शिकारीसाग निकुञ्ज सेनाको दोहोरो फाईरिङ समेत भएको थियो । रेन्जर बिष्णु पौडेलले सोमबार राती भएको घटनामा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई टेकेर अनुसन्धान तथा कारबाही अगाडि बढाइने जनाएका छन् ।