नवराज घिमिरे
पुष १०, बारा:संघ बिघटनको बिरोधमा जिल्ला खेलकुद विकास समितिमा ताला लगाइएको छ । गत शुक्रबार नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बारा र मधेश प्रदेश तेक्वान्दो संघले तालाबन्दि गरेका थिए । तालाबन्दी पश्चात जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएर तत्काल गलत निर्णय फिर्ता लिन माग गरिएको छन् ।
राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयले अबैधानिक तवरले नेपाल तेक्वान्दो संघ बिघटन गरेको भन्दै सोको विरोधमा खेलकर्मी उत्रीएका हुन् । विरोध स्वरुप तालाबन्दी गर्दै उनीहरुले खेलकुद बिकास समिति बाराका कार्यालय प्रमुख प्रदिप शर्मा र बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाउँदै राखेपले संघ बिघटनको निर्णय सच्याउन माग गरेका छन् ।
परिषदको एक पछि अर्को गलत कार्यका कारण खेलक्षेत्र विवादित बन्दै गएको तेक्वान्दो संघ बाराका अध्यक्ष चित्र बहादुर लामाको तर्क छ । देशमा प्रजातन्त्र आउनु भन्दा अघिदेखि दर्ता भई नियमानुसार खेलकुद गतिबिधि गर्दै आएको नेपाल तेक्वान्दो संघ बिघटन गर्ने
मन्त्रालयको निर्णय गलत भएको र यस्ता राजनैतिक हस्तक्षेपका बिरुद्ध आफुहरु आन्दोलित हुनु परेको प्रदेश महासचिब राजकुमार लामाले बताए ।
राखेप र खेलकुद मन्त्रालय आफैले गरेको गल्ती सच्याउन तीन दशक अघि स्थापना भएको नेपाल तेक्वान्दो संघ बिघटन गर्ने निर्णय गर्नु गलत भएको तर्क सहित तत्काल गलत निर्णय सच्चाउन केन्द्रिय सदस्य गुरु प्रसाद गौतमले माग गरे । खेलकुद ऐन विपरित परिषद स्वयंले राष्ट्रिय तेक्वान्दो संघ दर्ता गरी एकै प्रकृतीको दुई संघ बनाउनु नै गलत भएको उनको दावि छ ।
त्यसमाथि राष्ट्रिय तेक्वान्दो संघको अध्यक्ष तथा राखेपका उपाध्यक्ष समेत रहेका शिव कोईराला स्वयं विवाद समाधान निरुपण समितिको संयोजक बसेर आफु अनुकुल निर्णय गर्ने कार्य सरासर गलत रहेको खेलकर्मीहरुको आरोप छ । उनीहरुले यसलाई तत्काल सच्याउन माग गरेका छन् । तत्काल माग पुरा नगरे शसक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत उनीहरुले दिएका छन् ।
विरोधजन्य कार्यक्रममा अध्यक्ष लामा सहित प्रदेश महासचिब राजकुमार लामा, केन्द्रिय सदस्य गुरुप्रसाद गौतम, जिल्ला उपाध्यक्ष संञ्जय साह, कोषाध्यक्ष अनु बस्नेत लगायत खेलकर्मी र खेलाडीहरुको सहभागिता रहेको थियो ।