नवराज घिमिरे
पौष १७, बारा
बाराको सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउन १५दिने मखमलको जुत्ता बनाउने तालिमको आयोजना गरेको छ । जिल्लामै उत्कृष्ट छवी बनाउन सफल सहकारीले आफ्ना सेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन आफ्नै लगानीमा तालिम गत शुक्रबारबाट सुरु गरेको हो ।
यसअघि व्यवसायिक च्याउखेती, क्रिस्टलको गहना बनाउनेलगायतका तालिम सञ्चालन गरेर सहकारीको वार्षिक कार्यक्रमअन्र्तगत आफ्नासेयर सदस्यहरुलाई स्वरोजगार बाटोमा अग्रसर बनाउँदै आएको संस्थाले यसपटक भने मखमलको जुत्ता बनाउने सिप सिकाउन लागेको सहकारीका अध्यक्ष अनिता लम्सालले बताइन् ।
संस्थाका उपाध्यक्ष एवं तालिम संयोजक मुना खरेलले महिलाहरुलाई स्वरोजगार बनाउनकरिब साढे २ लाखको लागत अनुमानको तालिम सञ्चालन सुरु गरिएको बताइन् ।
कार्यक्रमको उदघाटन गर्दै जीतपुर सिमरा उपमहानगरालिका वडा नं २ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य धनबहादुर श्रेष्ठले सहकारीका महिला सदस्यहरुले निर्माण गरेको जुत्ताको वजारीकरणमा आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।तालिमका प्रशिक्षक अमृत रम्तेलले सहभागीहरुलाई तालिममा सिकाइने कुरा राम्रोसँग सिक्न आग्रह गर्दै वजार व्यवस्थापनको चिन्ता नलिन आग्रह गरे ।
संस्थाका सचिव भिमादेवी शर्माले संचालन गरेको तालिम उद्धघाटन कार्यक्रममा प्रशिक्षकद्वय शान्तिदेवी झा, अर्मत रम्तेल, सञ्चालक समितिका पदाधिकारीहरु, संस्थाका कर्मचारी तथा सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । १५ दिन चल्ने तालिममा जीतपुर सिमरा उपमहानगरपालिका अन्र्तगतका २, ३, ४ नं वडाका र वडा नं ९ स्थित छाता पिपराका गरी २०जना सेयर सदस्य महिलाहरु सहभागी भएका छन् ।