नवराज घिमिरे
१७ पौष , बारा: महागढीमाई नगरपालिकाले स्वस्थनगर योजना तर्जुमा गरेर नगरवासीको स्वास्थ्यप्रती प्रतिवद्ध रहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन नेपाल र सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा पालिकाले सुक्रबार आयोजना गरेको स्वस्थनगर योजना तर्जुमा सम्बन्धि अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख तारादेवी साह कानुले यस्तो प्रतिवद्धता जनाएकी हुन् ।

नसर्ने रोग तथा मातृ स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा उपस्थित सरोकारवालहरुले स्वस्थ नगरनिर्माणका लागि शारिरीक व्ययामकालागि खेलमैदान र सामग्रीको व्यवस्था, निःशुल्क स्वास्थ्य परिक्षण शिविर, सरसफाईलाई विशेष ध्यान दिनुपर्ने लगाएतका सुझाव दिएका थिए ।

उनीहरुले स्वस्थनगर बनाउने योजना नगरको भएपनि सोको कार्यान्वयनमा सरोकारवालाहरुको पनि भुमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ ध्यान दिन तथा समुदाय स्तरमा सचेतना फैलाउनुपर्ने आवस्यकता औंल्याएका छन् ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सुरक्षित मातृत्व सञ्जालका कार्यक्रम प्रबन्धक लक्ष्मी खनालले महागढीमाई नगरपालिका नगरवासीको स्वस्थ्यप्रती प्रतिवद्धता जनाउने पहिलो नगर रहेको दावी गरिन् । उनले पालिकाले खासै खर्च नगरेरै पनि आफ्ना वासिन्दाको स्वास्थ्य मजबुत बनाउन सक्ने विषयको प्रस्तुतीकरण गरिन् ।

नगरको स्वास्थ्य स्थितिका बारेमा प्रस्तुतीकरण गर्दै स्वास्थ्य शाखाका अजयकुमार सिंहले शुन्य घरायसी सुत्केरी लक्षीत बाटोमा नगरपालिका लागिपरेको बताए । त्यस्तै सुरक्षित मातृत्व सञ्जालको कार्यसमिक्षा तथा तथ्यांक संकलनको अवस्थाबारे जानकारी गराउँदै पालिका स्तरिय श्रोतव्यक्ति श्रीनिवास बैठाले नसर्ने रोग तथा मातृ स्वास्थ्यका विषयमा खासै सचेत नभएको समुदायको प्रतिकृया बारे जानकारी गराए ।

महागढीमाई नगरपालिकाका कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, विद्यालय तथा क्याम्पस प्रमुखहरु, स्वास्थ्यका क्षेत्रमा कार्यरत संघ/संस्थाहरु, स्वयंसेविकाहरु, विभिन्न क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका मधेशप्रदेश प्रतिनिधी डा.कमलेश यादव, सुरक्षित मातृत्व सञ्जालका जिल्ला अध्यक्ष भैयाराम यादव लगाएतले मन्तव्य राखेका थिए ।

श्री महेन्द्र प्राविधिक नमुना माध्यामिक विद्यालयमा आयोजित कार्यक्रमको सहजीकरण लक्ष्मी खरेलले गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय