१८ पौष ,बारा: नाबालिकामाथि बलात्कार गरेको आरोप लागेपछि फरार रहेका निजगढ नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको फरार सुचिमा रहेका वडा अध्यक्ष श्रेष्ठलाई आइतवार साँझ ८.३० बजे इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो । श्रेष्ठलाई नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो ।
छिमेककी एक १५ वर्षिय एक किशोरीलाई जबरजस्ति करणी गरेको आरोप लागेपछि वडा अध्यक्ष श्रेष्ठ ३ महिनादेखि फरार रहेका थिए । गत असोजमा छिमेकी किशोरीमाथि जवरजस्ति करणी गरेको अभियोगमा प्रहरी कार्यालय निजगढमा श्रेष्ठ विरुद्ध गत असोज २५ गते जाहेरी दर्ता भएको थियो ।
जबरजस्ति करणी अभियोगमा जाहेरी परेपछि जिल्ला अदालत बाराले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । खोजतलास क्रममा प्रहरीले श्रेष्ठ लुकेर बसेको हुनसक्ने शंभावित स्थानमा निगरानी बढाउनुको साथै मोबाइल फोनसमेत ट्यापिङ्ग गर्दै आएको थियो ।
‘प्रहरीले खोजतलास र निगरानी तीव्र पारेपछि बाध्य भएर प्रहरी समक्ष आफै आएका छन, निरीक्षक ओलीले भन्नुभयो, अभियुक्त श्रेष्ठलाई सोमवार जिल्ला अदालतमा पेस गरी म्याद लिएर थप अनुसन्धान गरिने छ ।’
श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।