उनी २०७४ सालमा तत्तकालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पछि संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर जसपा भएको थियो । त्यसपछि जसपा विभाजन हुँदा उनी उपेन्द्र यादव नेतृत्वको जसपामै बसेका थिए ।
उनी ४ मंसिरको चुनावमा बारा क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका थिए । यसअघि २०७४ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
को हुन् मुख्यमन्त्री यादव ?
५१ वर्षीय यादव विद्यार्थीकालदेखि नै राजनीतिमा रुचि राख्थे । विज्ञान पढेका उनले बीएस्सीसम्मको अध्ययन गरेका छन् । सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी २०५४ मा तत्कालिन हरिहरपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।
पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी बारा क्षेत्र नं. १ बाट सद्भावना पार्टीबाट निर्वाचित भएका थिए । उनी माधव नेपाल नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र डा. बाबुराम भट्टराई नेतृत्वमा स्वास्थ्य राज्यमन्त्री भएका थिए ।
यादव मधेस प्रदेशका पहिलो सभामुख हुन् । बारा १ (२) मा ०७४ मा तत्कालीन राजपाबाट निर्वाचित उनी यो पटक जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भए ।
सिम्रोनगढ नगरपालिका ३ नयकाटोल स्थायी घर भएका उनको जन्म २०२८ साल माघ १० गते भएको हो । २०६९ सालमा तत्कालीन सद्भावना पार्टीको महासचिव र २०७३ सालमा उपाध्यक्ष भएका यादब राजपा नेपालको गठनपछि पनि उपाध्यक्ष नै रहे । ०७४ मा तत्कालीन राजपाबाट प्रदेशसभा सांसद बने । राजपा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेपछि जसपा बन्यो । त्यतिबेला उनी सभामुख थिए ।
सभामुख स्वतन्त्र हुन्छन् भनेर उनी मौन बसे । न महन्थ ठाकुर न उपेन्द्र यादवलाई रोजे । पछि उनी उपेन्द्र यादवकै पार्टी जसपासँग नजिकिए । र, आम निर्वाचनमा जसपाकै टिकटबाट पुनः चुनाव जित्न सफल भएपछि अहिले मुख्यमन्त्री बनेका छन् ।