७ माघ ,काठमाडौं: आत्मनिर्भर लघुवित्तले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको हो।
कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको हो भने ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको कम्पनीले बताएको छ।
बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर भने सर्वसाधारणमा वितरण हुनेछ।
आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ १६ गतेदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्।
त्यस्तै, सर्वसाधारणले फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
दुबै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
उक्त आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी सिंगल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू साथै मरो सेयरबाट पनि आवेदन दिन सक्नेछन्।