
पुष्पराज खतिवडा
१४ माघ ,बारा:जितपुरसिमरा उपमहानगरपालिका १६ को टाँगियावस्तीमा राष्ट्रिय भुमि आयोग बारा मार्फत उपमहानगरपालिकाले भुमिहिन/अब्यवस्थीत बसोबासीको निवेदन दर्ता तथा नाप नक्साको निस्सा प्रदान गरेको छ ।
शनिबार कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साहले टाँगियावस्तीका ३ सय परिवारलाई निस्सा प्रदान गर्नु भएको हो । निस्सा वितरण कार्यक्रमको प्रमुख अतिथी रहनु भएकी मन्त्री साहले निस्सा वितरण कार्यक्रमलाई सम्बोध गर्नुहुँदै टाँगियाबासीलाई ६ महिनभित्र लालपूर्जा दिईने बताउनु भयो ।


आज निस्सा दिएर भुमिको अधिकार दिने आधार बनाएका हौं । ६ महिना भित्र स्थाईपूर्जा दिने छौं ,मन्त्री साहले भन्नु भयो ।
उहाँले नेपाल सरकारले टाँगियावस्तीलाई निकै चासोकासाथ हेरिरहेको बताउनु भयो । हामी याहाँको विकासमा एकरत्ती पछी पर्नेछैनौं । यहाँका जनताको भुमि अधिकार ,शिक्षा स्वास्थ्यको अधिकार प्राप्तीका लागि हरदम प्रयास रहने छ ।
कार्यक्रममा बारा क्षेत्र नं.३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठले टाँगियाको समस्या आफ्नो समस्या भएको भन्दै अव आजबाट टाँगियाबासीलाई वन क्षेत्रका बासिन्दा भन्ने दिन गएको बताउनु भयो । टाँगियालाई समस्या मुक्त बनाउने गरी यहाँको कृषि, सडक, सिंचाई र संचारका लागि काम गर्ने छौं, उहाँले भन्नु भयो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६का अध्यक्ष हरिदेव खरेलले टाँगियावस्तीका १ हजार ४७६ बढी परिवारलाई निस्सा प्रदान गरिने बताउनु भयो । यहाँको ६४८ विगाह जमिन टाँगियाबासीको हो । उहाँहरुलाई निस्सा नदिन विभिन्न दवाव आएका छन् । तर मेरो क्षेत्रमा मेरो र यहाँका जनताको अधिकार भएकाले निस्सा वितरण गरिएको उहाँले बताउनु भयो ।
टाँगियाका जनतालाई जमिनको निस्सा दिईएकोमा खुशी लागेको टाँगिया सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बताउनु भयो । निजगढ दोस्रो अन्तराष्ट्रिय विमान स्थल निर्माण गरिने क्षेत्रका रुपमा यहाँका जनतालाई राज्यले बर्षौबाट अवहेलना गर्दै आएको थियो ।
खानेपानी , विद्युत ,स्वास्थ्य, शिक्षा ,सिंचाई जस्ता आधारभुत आवश्यकता समेतमा हामीलाई पछि पारेको राज्यले अन्तराष्ट्रिय विमान स्थलका नाममा बन्धक बनायो । केही समयअघि विधुत बालियो । अहिले जमिनको निस्सा पायौं, यहाँकालागि गर्वको कुरा हो, उहाँले भन्नु भयो ।
फोटोमा : शनिबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियावस्तीमा भुमिहिन/अब्यवस्थीत बसोबासीको निवेदन दर्ता तथा नाप नक्साको निस्सा प्रदान प्रदान गर्नुहूँदै कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साह एवं प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठ ।