
नवराज घिमिरे
१४ माघ ,बारा:अखिल नेपाल महिला संघ जितपुरसिमरा नगर कमिटिले कृषी तथा पशुपंछी विकास मन्त्री ज्वाला कुमारी साह सहित ८२ जनालाई सम्मान गरेको छ । संघको नगर कमिटि अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा शनिबार रजघट्टामा सम्पन्न बधाई, शुभकामना तथा सम्मान कार्यक्रममा मन्त्री साह सहित ८२ जना सम्मानित भएका हुन् ।
संघले नेकपा एमालेको तर्फबाट बारा जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधी तथा प्रदेश सभामा निर्वाचित भएका साँसद तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले मतको सम्मान हुनेगरी प्रभावकारी भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइन् ।


कार्यक्रममा बोल्दै बारा ४ का प्रदेश सभा सदस्य देव नारायण चौधरीले आफु ५ वर्ष पछि पनि जनताको सामु उभिंदा कुनै आर्थीक तथा नातावाद कृपावादको आक्षेप नलाग्ने गरी काम गर्ने उद्धघोष गरे । उनले नितिनियमानुसारका काम गरी पार्टीको तथा पदको गरिमा जोगाउने अठोट व्यक्त गरे ।
त्यस्तै क्षेत्र नं. ३ क का प्रदेश सभा सदस्य रविन्द्र दास श्रेष्ठले एमाले विचार र शिद्धान्त बोकेको पार्टी भएको भन्दै कसैले पनि पार्टीको अहित हुने कार्य गरे अक्षम्य हुने बताए ।
कार्यक्रममा समानुपातिक बन्दसुचीबाट निर्वाचित प्रदेश सभा सदस्य मञ्जु थापा मगर, उपमेयर भोला प्रसाद अधीकारी, अनेम संघका केन्द्रिय सदस्य एवं वडा नं. १४ का अध्यक्ष चयन गुरुंङ्ग, वडा नं. ३ का अध्यक्ष तारा बहादुर कार्की, नेकपा एमाले जिल्ला कमिटि सदस्य कमला घिमिरे, वरुण गौतम लगाएतले मन्तव्य राखेको कार्यक्रममा मुना अधिकारीले स्वागत गरेकी थिइन् ।