८,फागुन मनहर्वा,बारा: जितपुरसिमर उपमहानगरपालिका अन्तरगतको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(मेड्पा)ले ८दिने उद्यमशिलता विकास तालिम सूरु गरेको छ ।
सोमबार उपमहानगरपालिकाको वडा नं.१८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सभाहलमा तालिमको नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नगरप्रमुख पौडेलले नेपाल सरकारको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तरगतको कार्यक्रमको भरपुर उपभोग गर्न सहभागिहरुलाई उत्साहित गर्नु भयो ।
गरिब ,विपन्न र सिमान्तकृत समुदायका महिलाहरुलाई लघुउद्यम मार्फत रोजगारी शिर्जना गर्ने उदेश्यले कार्यक्रमको भएको उहाँको भनाई थियो । सानो ब्यवसाय गरेर जीवन चनाउन खोज्ने परिवारका लागि तालिम उपलब्धी मुलक बन्ने उहाँले बताउनु भयो ।
तालिम उद्घाटन कार्यक्रममा वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्ले, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा लगायतले बोल्नु भएको थियो ।
तालिममा उद्घाटन कार्यक्रममा सम्भाब्य लघुउद्यमी २५ जना महिला सहित ३६ जनाको सहभागिता थियो । ८ दिन सम्म संचालन हुने तालिमको सहजिकरण लघुउद्यम विकास शाखाका उद्यम विकास सहजकर्ता दिपनारायण चौधरी तथा उद्यम विकास सहजकर्ता उषा बुढाथोकीले गर्नु भएको हो ।
आजै उपमहानगरपालिकाको वडा नं.१७ को जैतापुरमा समेत सोही तालिमको उद्घाटन गरिएको छ । जैतापुरमा वडा अध्यक्ष भिम बहादुर गङ्तानले तालिमको उद्घाटन गर्नु भएको हो । तहाँ १५ जना महिला सहित २४ जनाको सहभागिता थियो ।