१७ चैत्र,बारा : जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिवार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो उपाधी उचाल्ने दाउमा हुनेछन् ।

जारी सिजनमा दुबै टिम उपाधी विहिन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप र शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुबै टिम उप विजेता रहन पुगे ।

मोफसलका अन्य प्रतियोगितामा सहभागी हुँदै सिमरा आएका दुबै टिम उपाधी विहिनताको अवस्थाको अन्त्य गर्न चाहन्छन् । दुबै टिमका लागि यो उपाधी निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सम्पन्न भए लगत्तै ए डिभिजन लिगको छैठौं चरणका खेल सोमबार देखि सुरु हुँदैछन् ।

काठमाण्डौ पुगेर लिगको यात्रा थालनी गर्न आफूहरुका लागि जीतपुरसिमराको उपाधीले उर्जा थप्ने टिमका कप्तान तथा प्रशिक्षकको भनाई छ । लिगमा अपराजित रहेको चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाई पहिलो सहभागितामै उपाधी उचालेर जीतपुरसिमरामा इतिहास रच्न र मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगिताको उपाधी लिएर लिगको सुरुवात गर्न चाहन्छन् ।

‘यो उपाधी हाम्रो लागि निकै महत्वपूर्ण छ । हामीसंग राम्रो टिम छ तर उपाधी जित्न सकेका छैनौं’ हुमागाईले भने ‘टिममा उर्जा र दर्शकमा उत्साह थप्न यो उपाधी जित्नै पर्नेछ । हामीले जित्ने गरी खेल्नेछौं ।

बि डिभिजनबाट बढुवा भएर आएपछि उत्कृष्ट फूटबल प्रदर्शन गर्दै आएको चर्च ब्वाईजले जीतपुरसिमरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो । एपीएफ र एनआरटीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको चर्च ब्वाईजले इतिहास रच्न शेर्पा विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ ।

दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता शेर्पा जीतपुरसिमरा गोल्डकपका लागि परिचित टिम हो । लामो समयदेखि निरन्तर सहभागिता जनाउदै आएपनि उसले पछिल्लो १० वर्षदेखि भने जीतपुरसिमरामा सुखद् नतिजा प्राप्त गर्न सकेको थिएन् ।

फाइनलको यात्रा तय गर्न १० वर्ष प्रतिक्षा गरेको शेर्पा दोस्रो पटक उपाधी उचाल्ने अवसर खेर फाल्न चाहदैन् । शेर्पाका टिम मेनेजर विजेन्द्र पुडासैनीले उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको प्रतिकृया दिए ।

सुत्रबार सिमरा रंगशालामा भएको पत्रकार सम्मेलनमा उपस्थित हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ र चर्चका कप्तान मिलन राईले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको बताए ।

शनिवार साँझ सिमरा रङ्गशालाको फ्लड लाईटमा उपराष्ट्रपति रामसहाय प्रसाद यादबको प्रमूख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवाक्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

जीतपुरसिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता
२०७८ न्युरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रीभूवन आर्मी
२०७३ संकटा क्लब
२०७२ विजय युथक्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नवजनजागृति युवाक्लब सिमरा
२०६९ मनाङ मस्र्याङदी क्लब
२०६८ मनाङ मस्र्याङदी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर सहिद स्मृतिक्लब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय