पुष्पराज खतिवडा
२० चैत्र,बारा: बारा क्षेत्र नं.२ मा आगामी बैशाष १० गते हुने उपनिर्वाचनका लागि आज सोमबार उमेदवारी मनोनयन दर्ता भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री पूरुषोत्तम् पौडेल, सिके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उमेदवारी दर्ता गराएका छन् ।

सांसदहरु ,पार्टीका केन्द्र, प्रदेश तहका नेता, जिल्लाका तहका नेता कार्यकर्ता र सयौं गाडीको लावालस्कर सहित जिल्ला समन्वय समिति बारामा रहेको मुख्य निर्वाचन कार्यालयमा उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । देश र जनताको हितमा काम गर्ने उनीहरुको भनाई थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको उमेदवारी दर्ता भएको छ । यसैगरी हाम्रो नेपाली पार्टीबाट चन्द्र प्रकाश सुवेदीले उमेदवारी दर्ता गराएका छन् । उनी गत बैशाषमा सम्पन्न निर्वाचनमा बारा क्षेत्र नं.३बाट उमेदवार बनेका थिए ।

उमेदवारी दर्ता गराउनेहरुमा नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ती प्रसाद यादव, प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरुण ज्ञवालीको उमेदवारी परेको छ । उनी गत निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र उमेदवार उठेका थिए । काँग्रेसका विद्रोही समुहको समर्थथनमा उनले ७ हजार ६९८ मत पाएका थिए ।

यस्तै नागरीक उन्मुक्ती पार्टीबाट डा. कमरुल्लाह अंसारी, राष्टिय जनमुक्ती पार्टीबाट हरिबुलअहमान अंसारी र केही स्वतन्त्र गरी ३६ जनाको उमेदवारी परेको छ ।

१ लाख ५ हजार २९८ जना मतदाता रहेको क्षेत्र नं.२मा मुख्य गरी जसपा, एमाले र जनमत पार्टीका उमेदवार विचमा त्रीपक्षी भिडन्त हुने देखिएको छ । दुई दर्जनबढी उमेदवारी परेपनि १० दलिय सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी, काँग्रेस, लोसपा, नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उमेदवारी दर्ता गराएका हुन् । उनी यसअघि बैशाष ४ मा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

गत निर्वाचनमा एमालेसंग लातमेल गरेको जसपाले बारामा २ मा रामसहाय प्रसाद यादवलाई उठाएको थियो । यादवले काँग्रेस माओवादी लगायत ५ दलिय गठबन्धनबाट उमेदवार बनेका माओवादीका शिवचन्द्र कुशवाहलाई २५४ मतान्तरले पराजित गर्दै विजयी बनेका थिए । उनी उपराष्ट्रपती बनेपछि रिक्त बनेको बारा २ मा उपनिर्वाचन हुन लागेको हो । यादवले १३ हजार ८२२ मत पाउँदा कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय