२२ चैत्र, बारा: नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको मसिहा भन्नेहरूले मधेसी जनता ठग्ने बाहेक केही नगरेको आरोप लगाएका छन् । बुधवार बाराको महागढीमाई नगरपालिमा एमालेले आयोजना क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले बाहेक अन्य दलले देश विकास गर्न नसक्ने बताए ।
ओलीले मधेसमा हुलाकी राजमार्ग कसले बनायो भन्दै प्रश्न गरे । ‘मधेसमा हुलाकी राजमार्ग कसले बनायो ? मधेसका मसिहा त धेरै देखिए । तर मधेसका मसिहा भन्नेहरुले मधेसका जनता ठग्ने बाहेक केही गरेनन्नु’, ओलीले भने । ‘बनाउन त एमालेले बनायो । एमालेको सरकार भएर हुलाकी राजमार्ग बनेको हो । मधेसीको पहाडीको सरकारले होइन ।’
उनले जसपाका अध्यक्ष उपेन्द्र यादव मोरङ, सुनसरी, सप्तरी हुँदै सिधा जनता देखेर बारा आएको बताए । ‘उहाँले जितेर के गर्नुहुन्छ ? मन्त्री खानुहोला । उहाँलाई कांग्रेस र माओवादीले छाडेका बेला एमालेले साथ दियो ।
माथि पुगिसकेपछि उहाँको भूमिका त बेग्लाबेग्लै हुँदै गयो’, ओलीले यादवप्रति कटाक्ष गर्दै भने, ‘दिउँसो रुद्राक्षको माला जपेको छ, बेलुका बेलुका भुत्ल्याउनु पनि परेन जिउँदै‘त्यो खालको भूमिका पनि देखियो, ओलीले भने । कुरा हामीसँग राम्रो गर्नुहुन्छ, षड्यन्त्र अन्त गएर गर्नुहुन्छ । अहिले देश लुट्न बनेको दश दलीय गठबन्धनको एक सदस्य हुनुहुन्छ उहाँ ।’
अध्यक्ष ओलीले सबल र बलियो राष्ट्रिय शक्ति निर्माणमा एमालेलाई साथ दिन बारा २ का मतदातालाई आग्रह गर्दै एमाले आउँदा सेल्फी खिच्न नभई बाटो बनाउन, घर बनाउन र सिँचाइ गर्न आउने बताए ।
कार्यक्रममा बारा क्षेत्र नं.२ का उमेदवार पुरुषोत्त्म पौडेलले एमाले जनताको पार्टी मात्रै नभएर विकासप्रेमी भएकाले यसपटक क्षेत्र नंं.२का जनताको रोजाईमा एमाले पर्ने बताए ।
उनले जसपा अध्यक्ष मार्फतले बाराको क्षेत्रलाई सप्तरी सार्न खाजेको भन्दै यहाँका जनताले त्यसो हुन नदिने बताए ।
कार्यक्रममा एमाले नेता पूर्वमन्त्री रघुविर महासेठ, ज्वाला साह,पोलिटब्यूरो सदस्य अच्युत मैनाली लगायतकाले सम्बोधन गरेका थिए ।
ओली आजै पर्साको विरगजंमा सुरु भएको पिछडा वर्ग महासंघ(ओविसी)को राष्टिय महाधिवेशनको समुद्घाटन गरी काठमाण्डौं फर्किए ।