पुष्पराज खतिवडा
३ बैशाष : बारा क्षेत्र नं.२ मा आगामी १० गते हुने निर्वाचनमा मतदाता आकर्षित गर्न उमेदवारसँगै पार्टीहरुले आफ्ना गतीविधि बढाएका छन् । टोलभेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेत खेतमा पुगिरहेका छन् ।
गहुँ मकै काटिरहेका मतदातालाई खेतमै पुगेर मत मागिरहेका छन् । दलहरुले निर्वाचनलाई पार्टीको प्रतिष्ठा बनाएका छन् भन्छन् बारा क्षेत्र नं.२ अन्तरगतको करैयामाई निवासी पूर्व जनप्रतिनिधि रामएकवाल चौधरी । उनका अनुसार जनता समाजवादी पार्टी(जसपा), नेकपा एमाले, जनमत पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले क्षेत्र नं.२मा भब्य चुनावी तयारी गरेका छन् ।
यस पटक दलहरुले चुनावलाई प्रतिष्ठा बनाएका छन् । जनता समाजवादी पार्टीले केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई उमेदवार बनाएको छ । यसअघि सोही पार्टीका रामसहाय प्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधिसभासभा सदस्यमा चुनाव जितेका थिए ।
उनी उपराष्ट्रपती बनेपछी यहाँ उपचुनाव हुन लागेको हो । जसपालेनै जितेकाले यसपटक जसपाकै उमेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिएको छ । यद्यपी परिस्थीति त्यस्तो नरहेको चौधरीले बताए । उनले भने “जसपा अध्यक्ष यहाँका बासिन्दा हैनन् । आगन्तुक उमेदवारलाई भोट दिन नहुने मत बलियो छ । जसपा अध्यक्ष पटक पटक उपल्लो ओहदामा पुगेर केहीगर्न नसक्ने पद लोलुप ब्यक्तीको रुपमा यहाँका जनताले थाहा पाएका छन् ,उनले भने ”
नेकपा एमालेले पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम् पौडेललाई उठाएको छ । उनी यस क्षेत्रका लागि प्रभावशाली नेता मानिन्छन् । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चाज पौडेलले को यस क्षेत्रमा आफ्नै खालको क्रेज छ । उनको जितका लागि एमालले कुनै कसर बाँकी राख्ने देखिँदैन ।
२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई उर्जादिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा आएका थिए । ओलीको आगमनपछि यहाँको माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित पटेलले बताए । ज्वाला कुमारी साह, अच्युत मैनाली,रघुविर महासेठ लगायतका संघिय साँसदहरु पौडेल जिताउ अभियानमा सक्रिय बनेका छन् ।
यसैगरी नेकपा माओवादीका पूर्व नेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उमेदवार हुन् । उनी यस क्षेत्रका प्रभावशी ब्यक्तीका रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेमा ३५४ मते उपराष्ट्रपती रामसहाय प्रसाद यादवसँग पराजित भएका थिए । उनी यसपटक मंसिरको हारको बदला लिन चाहन्छन् । उनलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउत समेत क्षेत्रमै खटि, लागि परेका छन् ।
यसैगरी गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजीत अरुण ज्ञवाली यसपटक प्रभु साहको आम जनता पार्टीबाट उमेदवार छन् । उनको अभियानलाई स्वमं प्रभु साहले अगुवाई गरिरहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै लगेका छन् । उनी आफ्ना उमेदवार पूर्व डिआजी रमेश खरेललाई जिताउन चाहन्छन् ।
बारा क्षेत्र नं.२ को निर्वाचन त्रिपक्षीय चौपक्षीय बन्दै गएपनि मूख्य गरी जसपा उमेदवार यादव, एमालेका पौडेल र जनमत पार्टीका उमेदवार कुशवाह विच मुख्य प्रतिश्पर्धा हुने आँकलन भैरहेको क्षेत्र नं.२ तेतरिया निवासी मिश्रीलाल सहनीले बताए ।