सर्लाहीको बरहथवामा मुसहर महिलाहरूको सक्रियतामा ४० जना बालबालिकाहरू विद्यालय भर्ना भएका छन् ।

बरहथवा नगरपालिका–८, टाँडीमा मुसहर सशक्तिकरण मन्चमा आवद्ध महिलाहरूको अगुवाइमा मुसरहर समुदायका विद्यालय उमेरका बालबालिकाहरूलाई  सामुदायिक विद्यालय भर्ना गरिएको हो ।

तराई मधेशका दलित मुसहर परिवारले चरम गरीबी तथा आर्थिक अभावको कारण बालबालिकाहरूलाई विद्यालय भर्ना गर्ने गरेका छैन्न । मुसहर समुदायका अधिकांस विद्यालय उमेरका बालबालिका आमाबुवासँगै इँटाभट्टामा श्रम गर्न जाने गर्छन् ।

यसरी अभिभावकको साथ लागेर जाने तथा अभिभावकले समेत श्रम गर्न लैजाने प्रवृतिका कारण यस समुदायका अधिकांश बालबालिका पढाइबाट बन्चित रहँदै आएका छन् । मुसहर बालबालिकाहरूलाई शिक्षित बनाउन सोही समुदायका महिलाहरू अग्रसर भएका हुन् ।

हिजोको दिनमा आफूहरूले नपढेर दुःख पाएको मुसहर महिलाहरू सशक्तिकरण मन्चका अध्यक्ष सरिता माझीले बताइन् । ‘अब नयाँ पुस्तालाई अनपढ बनाएर दुखी बनाउँदैनौँ,’ उन्ले भनिन्,  ‘बालबालिकाहरूले पढनु धेरै जरुरी छ भन्ने कुरा हामीले महसुस गरिसकेका छौँ ।’

उनीहरूले विद्यालय भर्नासँगै जन्मदर्ता अभियान पनि संचालन गरेका छन् । कार्यक्रमअन्तर्गत श्री आधारभूत विद्यालय आनन्दनगर टाँडीमा ४० जना विद्यार्थी भर्ना गरिएको विद्यालय प्रशासनले जनाएको छ । तीमध्ये २३ छात्रा र १७ छात्र रहेको प्रधानाध्यापक हरिशरण राय यादवले जानकारी दिए । उनले यति धेरै संख्यामा मुसहर बालबालिकाहरू एकैपटक विद्यालय भर्ना भएको पहिलो हो ।

अभियानअन्तर्गत बीचैमा विद्यालय छाडेका बालबालिकालाई समेत भर्ना गरिएको थियो । अभियानमार्फत धेरै नयाँ बालबालिकाहरू भर्ना भएका समूहकी सचि सम्झावती माझीले बताइन् ।

उनले प्रधानाध्यापक यादव समक्ष विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिमा विद्यालय पोशाक उपलब्ध गराइदिन अनुरोध गरिन् ।

मुसहर समुदायका उनीहरू साप नेपालको आयोजनामा संचालित नेपालको स्थानीय सरकारमा लैंगिक उत्तरदाय तथा सुशासन प्रबद्र्धन कार्यक्रमअन्तर्गत मुसहर महिला सशक्तिकरण कार्यक्रम आवद्व छन् ।

उक्त कार्यक्रमअन्तर्गत बरहथवा ८, ११ र १३ मा चारवटा समूह गठन भएको छ । मुसहर महिलाहरूकै अगुवाइमा गठिन समूहले बालबालिकाको जन्मदर्ता,  विद्यालय भर्नालगायतका अभियान संचालन गर्दै आएको छ ।

समूहको अगुवाइमा हालसम्म एक सयभन्दा बढी बालबालिकाको जन्मदर्ता भएको छ । समूहमा बचत गर्ने, आयआर्जन गर्ने, लैंगिकहिंसा, बालविवाह, जाँडरक्सी जुवातासविरुद्धको अभियानसमेत संचालन हुने गरेको मुसहर महिला सम्झावती माझीले जानकारी दिइन् ।

समूहमा आबद्ध भएर विभिन्न तालिममा सहभागि भएका मुसहर महिलाहरूमा चेतनाको विकास भएको सहयोगी संस्था साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए ।

देशभर सुरु भएको विद्यालय भर्ना अभियानसँगै सर्लाहीको बरहथवा, हरिपुर, चन्द्रनगर र बसबरिया मञ्चमा आवद्व मुसहर महिलाहरू आफैँले बालबालिका भर्ना अभियान संचालन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय