नवराज घिमिरे
१८ जेठ,बारा:सिमरा स्थित थानीमाई सामुदायिकवन (सिमरा पार्क) मा मधेस प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल सितोरियो कराँते डोजाङले जेठ १९गते शुक्रबार र २०गते शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाबाट एक सय ६० खेलाडीले सहभागिता जनाउने छन् । दुईदिन चल्ने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ १० वटा तौल समूहमा प्रतिस्पर्धा हुने डोजाङ प्रमुख सानु पटेलले जानकारी गराए ।
प्रत्येक जिल्लाबाट २० जना खेलाडी सहभागी हुने बताउँदै पटेलले एकलकाता तर्फ महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने बताए । प्रतियोगितामा करिब आठलाख रुपैया खर्च हुने अनुमान आयोजकले गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा अन्य संघसंस्था तथा स्थानीय खेलप्रेमीहरुको समेत सहयोग रहने आयोजकले जनाएको छ ।
सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेनको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो । कराँते प्रशिक्षक हिमालचन्द्र अधिकारी, खानेपानी कार्यालयका प्रमुख सुरज वैद्य लगायको उपस्थिती रहेको सममेलनको सहजीकरण संचारकर्मी प्रदीप गौतमले गरेका थिए ।