मनहर्वा,बारा
२० जेष्ठ :जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ ले शनिबार भुमिहिन, सुकुम्बासी र अब्यस्थीत बसोबासको निवेदन दिएका वडाबासीलाई निवेदन दर्ताको निस्सा वितरण गरेको छ ।
मनहर्वा स्थीत वडा कार्यालय परिषरमा आयोजित निस्सा वितरण कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको हो । प्रमुख अतिथी समेत रहनु भएका पौडेलले निस्सा वितरण जग्गा प्राप्तीको महत्वपूर्ण प्रकृया अन्तरगतको काम भएको बताउनु भएको छ ।
उहाँले निवेदन संकलनपछीको निस्सा वितरण, नाप नक्सा लगायतका कामलाई सरल ढंगबाट सहजिकरण गरी यो प्रकृयालाई सम्पन्न गर्न वडाबासीलाई अनुरोध गर्नु भयो । विवाद रहित ढंगबाट वडाले सम्पन्न गर्ने काममा यहाँका सामाजिक अगुवा, पार्टी प्रतिनिधि र वडा स्तरिय सहजिकरण समितिका साथीहरुलाई आग्रह गर्न चाहन्छु ,नगरप्रमुख पौडेलले भन्नु भयो ।
विवाद भएमा प्रकृयामा समस्या आउन सक्छ । यस्ता समस्याले समाधान दिन नसक्ने हुँदा स्थानिय स्तरमा उत्पन्न जग्गा सम्बन्धी समस्या यहीँ समाधान भएर आवस् । त्यसपछि नगर स्तरिय सहजीकरण समितिले आवश्यक प्रकृया पुरागरी जतिसक्दो छिटो लालपुर्जा वितरण हुनेगरी भुमि आयोगमा पठाउने छ , पौडेलले भन्नु भयो ।
वडामा दर्ता भएका ९ सय १७ जनालाई निस्सा वितरणको कामको सुरुवात गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले बताउनु भयो । आजमात्रै ३ सय बढिजनाले निस्सा बुझिलिनु भएको छ । बाँकीलाई भोलीबाट नियमित गरिने छ ,उहाँले भन्नु भयो ।
निस्सा वितरण कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नं.१८ का वडा समिति सदस्य लक्ष्मीमाया वल, चेत बहादुर आले,रन्दीर चौधरी, अदरी देवी चमईन ,पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल, वडा नं. १४ का पूर्व वडा अध्यक्ष रामशरण बर्तौला, स्थानिय कृष्ण वाग्ले, राजेश भण्डारी, बसन्त खतिवडा लगायतको सहभागिता रहेको थियो ।
वडा सचिव सीमा उप्रेतीको संचालन तथा वडा अध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षतामा निस्सा वितरण उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।