
१० सिमरा: बाराको सिमरामा आजबाट दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता २०८० हुँदैछ । मधेश प्रदेश फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । सिमरा रंगशालामा हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ ।
सिमरा रंगशालामा रातीको समयमा फ्लड लाईटमा सञ्चालन हुने प्रतियोगिताको अहिले केहीबेरमा मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्दैहुनुहुन्छ।


प्रतियोगितामा मधेश प्रदेश जिल्लाका ८ वटा टिमको सहभागिता रहने मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्किले जानकारी दिनुभयो । अध्यक्ष कार्किले प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउने बताउनुभयो ।
प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहनेछ ।
बारा जिल्ला फुटबल संघको सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल बारा जिल्ला फुटबल संघ र पर्सा जिल्ला फुटबल संघबिच हुनेछ । दुई टिमबिचको उद्घाटन खेल दिउसो ५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याचको ट्रफि सहित विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताको ब्रोडकाष्टिङ पार्टनरमा गोल नेपाल डटकम रहेको छ । आयोजकले खेलाडी, रेफ्रि, अफिसियल, आयोजक र दर्शकको लागी ईन्सुरेन्सको समेत व्यवस्था गरेको जनाएको छ ।
प्रवेश शुल्क निःशुल्क रहने प्रतियोगितामा तेश्रो स्थानको लागी पनि हुने प्रतिस्पर्धा हुने बताईएको छ । रामनारायण मिश्र फुटलब प्रतियोगिताको पहिलो संसकरण धनुषाको महेन्द्र नगरमा भएको थियो । पहिलो संसकरणको बिजेता सर्लाही जिल्ला फुटबल संघ र उप बिजेता बारा जिल्ला फुटबल संघ भएको अध्यक्ष कार्किले जानकारी दिनु भयो ।
शनिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको थियो।