२५ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि हरिखेतान बहुमुखी क्याम्पसले निर्माण गरेको संरचनामा डोजर लगाएको छ ।
संरचना हटाउन मेयर राजेशमान सिंह दिउँसो डोजर लिएर आफैं क्याम्पसमा पुगेका थिए ।
क्याम्पसको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन डोजर लगाउनु परेको महानगरले जनाएको छ ।
नालामाथि बनेको संरचना आफैं हटाउन क्याम्पसलाई निर्देशन दिएको भए पनि क्याम्पसले नहटाएपछि आफैं डोजर लिएर आउनु परेको मेयर सिंहले बताए ।
जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ ।
हरिखेतान क्याम्पस पछाडिसम्म सफाइ गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइ गर्न पाएको थिएन । महानगरले यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकेको छ ।
वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ ।
गीता मन्दिरदेखि आदर्शनगर हरिखेतान क्याम्पससम्मको क्षेत्रमा मुख्य नालाको दुबैतर्फ अतिक्रमण गरेर संरचना बनेका छन् । आदर्शनगरको क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको भवन पनि नाला माथि नै निर्माण गरिएको छ ।
अहिले क्लासिक होटल पछाडिसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्ण रुपमा सफाइ गरिसकिएको छ ।
वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगञ्ज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफा गर्न सबै उपाय अवलम्बन गरेको मेयर सिंहले बताए ।
onlinekhabar.com