काठमाडौं । वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम श्रावण १ गतेबाट कार्यान्वयनमा आएको हो।
तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्।
एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।
एफडीएले न्याम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउन समेत आग्रह गरेको छ।