
जुरेली संवाददाता
३२ साउन ,बारा : श्रीमतीको हत्यागरी विमा कम्पनीबाट क्षेतीपूर्ती रकम लिने एकजना सहित बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका वडा नं.२६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेको हो ।
देवानसँगैं उनलाई श्रीमतीको मृत्यु भए विमाबाट मोटो रकम आउने भन्दै उक्साएको आरोमा एशियन लाईफ ईन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अंसारी पनि पक्राउ परेका छन् । यस्तै पक्राउ परेका अर्का एकजनाको नाम थाहा हुन सकेको छैन ।


पक्राउ परेका देवानले अन्दाजी ४० बर्षिया पत्नी हजरा खातुनको नाममा एशियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैंयाको जिवन विमा गराएका थिए । बीमा अभिकर्ता अन्सारीमार्फत २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा श्रीमती हजरा खातुनको नाममा बीमा गराएका थिए ।गतबर्ष भदौमा हजाराको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाई उनले विमा दावी गरेका थिए । २०८० साल असारमा विमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैया क्षेतीपूर्ती रकम भुक्तानी गरेको थियो ।
देवानले विमाबाट रकम बुझिसकेपछी देवान पत्नी हजराकोे मृत्यु शंकास्पद भएको सुचना पाएको प्रहरीले देवानलाई निगरानीमा राखेको थियो । उनै देवानले श्रीमतीको घाँटीमा सलले बेरेर हत्या गरेर दुर्घटनाको नाटक गरेको र यसो गर्न फलाना फलानाले सिकाएको भन्दै हिँडेको पाईएपछि उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
विमाबाट रकम लिन पत्नी हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको बारा प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।
विमा कम्पनीबाट क्षेतीपूर्ती रकम लिनकै लागि श्रीमतीको हत्या गरिएको पुष्टी भएको छ ।
घटनाको गहिरो अनुसन्धान गरिरहेका छौं । घटनामा अझै केहीको संलग्नताको आशंका छ । विस्तृत विवरणका लागि दुईदिन जती पर्खीदिन उहाँले आग्रह गर्नु भयो ।