
पुष्पराज खतिवडा
२५ भाद्र :बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पालिका स्तरिय नगर सहकारी संघ गठन हुने भएको छ । सोमाबार नगरभित्रका सहकारीकर्मीहरुको सिमरामा बसेको भेलाले नगर सहकारी संघ गठनका लागि आवश्यक तयारी गर्ने गरी ९ सदस्य तदर्थ समिति गठन गरेको हो ।
सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड(साकोस)की अध्यक्ष अनिता लम्साल अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । समितिको सहसंयोकमा जनकल्याण बहुउदेश्य सहकारी संस्था जितपुरका अध्यक्ष गणेशजी प्रसाद साह, सचिवमा संगालो बचत तथा ऋण सहकारी संस्था सिमराको सचिव रत्न प्रसाद उप्रेती चुनिनु भएको छ ।


यस्तै कोषाध्यक्षमा साना किसान कृषि सहकारी संस्था लिमिटेड छातापिपराकी अध्यक्ष विजयता कुमारी चौधरी र सदस्यहरुमा कोसेली महिला साकोस फत्तेपुरकी मञ्जु चौधरी, सगरमाथा महिला साकोस जितपुरकी उषा अधिकारी, औराह उपभोक्ता सहकारीकी शर्मिला पुडासैनी, प्रभातफेरी दुग्ध सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष मधुकर अधिकारी र बाँकी एकजनाको नाम समावेस गर्न बाँकी छ ।
तदर्थ समिति संयोजक अधिकारीका अनुसार नगरभित्रका सहकारीहरुको विकास, प्रर्वद्धन र बजारीकरणको काम गर्ने उदेश्यले नगर सहकारी ऐन २०७५ को अधिनमा रहेर संघ गठन गर्न लागिएको हो । नगरको सहकारी ऐनको दफा ४ मा यो ब्यवस्था गरिएको छ ।
गठित तर्दथ समितिले आवश्य विनियमको मस्यौदा तयार गरी आगामी असोज ५ गते बस्ने भेलामा छलफलका लागि पेश गर्ने संयोजक अधिकारीले जानकारी दिनु भयो ।