पुष्पराज खतिवडा
५ असोज ,बारा: नेपाल सरकारले हालै संसदमा दर्ता गरेको विद्यालय शिक्षा ऐन २०८० को विधयकमा उपहानगरपालिको पनि असहमती रहेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
सुक्रबार एक विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाले उक्त विधयक नेपालको संविधान, संघियताकोे मर्म र स्थानिय तहको अधिकारको समेत हनन् हुने गरी आएको भन्दै असहमती जनाएको हो ।
नगरका प्रवक्ता भोज बहादु खत्री (ईश्वर)द्वारा हस्ताक्षरित विज्ञप्तीमा “संसदमा पेश भएको उक्त विधयक नेपालको संविधान, संघियताकोे मर्म र स्थानिय तहको अधिकारको समेत हनन् हुने गरी आएकाले यस उपमहानगरपालिकाको पनि असहमती रहेको जानकारी गराउँदछौं , ” भनिएको छ ।
यस्तै विधयकमा समाविष्ट प्रावधानप्रति असहमती जनाउँदै नेपाल शिक्षक महासंघद्वारा विद्यालयको नियमित पठनपाठन अवरुद्ध हुनेगरी आन्दोलनका कार्यक्रम प्रति उपमहानगरपालिकाले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
शिक्षकहरुले आफ्नो हकहित र वृति विकास लगायतका सवालमा राख्नु भएको कतिपय मागहरुप्रति स्थानिय सरकारका नाताले उपमहानगरपालिका संवेदनशिल रहेको तर पठनपाठन प्रभावित भएको प्रति उपमहानगरले चिन्ता जनाएको छ ।
शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थीहरुको निर्वाध रुपमा शिक्षा हाँसिल गर्न पाउने नैसर्गिक अधिकार हुनन् हुन पुगेको प्रति संवेदनशिल र जिम्मेवार भईदिन उसले आग्रह गरेको छ ।
“आन्दोलनरत शिक्षकहरुलाई आफ्ना असहमती र मागका विषय उठाउँदा बालबालिकाको अधिकार प्रति संवेदनशिल र जिम्मेवार भईदिन र पूर्ववत् विद्यालय संचालन गर्न उपमहानगरपालिका निर्देशित गर्दछ” विज्ञप्तीमा भनिएको छ ।
यस्तै सरोकारवालाहरु र आन्दोलनरत पक्षसँग समयमै वार्ता र संवाद गरी समस्या समाधान गर्न नेपाल सरकार र नेपाल शिक्षक महासंघलाई जीतपुरसिमरा उपमहानगरपालिका हार्दिक अनुरोध गर्दछ, उसले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
बाराका ४२५ वटा सामुदायिक विद्यालयमा कार्यरत २ हजार ९१० शिक्षकमध्ये अधिकांश शिक्षक पठनपाठन ठप्प पारेर नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा सुरु भएको शिक्षक आन्दोलनमा सहभागी हुन गएका छन् ।
शिक्षक आन्दोलनका कारण बारामा बालविकासदेखि उच्च माविसम्म अध्ययनरत १ लाख ६० हजार ४०७ जना विद्यार्थीको पठनपाठन ठप्प भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाराका निमित्त प्रमुख वृजकिशोर प्रसादले जनाएका छन् ।
‘शिक्षक आन्दोलनले बारामा बालविकास देखि उच्च माविका डेढ लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प भएको छ,’ शिक्षा समन्वय इकाइ प्रमुख प्रसादले भने । ‘विद्यालय शिक्षा विधेयक २०८०’ शिक्षकहरूको हितमा नरहेकाले फिर्ता गर्नुपर्ने मागसहित शिक्षकहरु बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।