
९ असोजः बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगितामा चितवन भेट्रान फुटबल क्लब र चावहिल भेट्रान क्लबले विजयी भएका छन् । सोमबार सिमरा रंगशालामा भएको दोश्रो दिनको दुईवटा खेलमा चितवन र चावहिल भेट्रानले विजयी भएका हुन् ।
पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई १–० गोल अन्तरले पराजित गर्दै चितवनले विजयी शुरुवात गरेको थियो । चितवनको जितमा मेघलाल तामाङले खेलको ५८औ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गरेका तामाङ नै म्यान अफ द म्याच घोषित भए ।


उनलाई आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे। प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा चावहिल भेट्रान क्लब काठमाण्डौ विजयी भएको छ ।
दार्जिलिङ टाउन भेट्रान भारतलाई ३–० गोल अन्तरले पराजित गर्दैै चावहिलले विजयी शुरुवात गरेको हो । चावहिलको जितमा कृष्ण मलाकारले २ गोल गरेका थिए । त्यसअघि पहिलो हाफको २६औं मिनेटमा शिशिर बहादुर हमालले शुरुवाती गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मलाकार म्यान अफ द म्याच घोषित भए । उनलाई यु आर गोल्ड प्रिमियम मसला चियाकी सञ्चालिका रिता कँडेलले ट्रफी प्रदान गरिन।
प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुदेछ । पहिलो खेल फ्रिडम फाईटर क्लब काठमाण्डौ र एन.जे.जे.वाई.सि. भेट्रान क्लब सिमरा र दोश्रो खेल चावहिल भेट्रान क्लब काठमाण्डौ र चितवन भेट्रान फुटबल क्लब बिच हुने आयोजक क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिए ।
स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिए।