
२४ असोज ,बारा : प्रहरीले एक महिनाको अवधिमा १ करोड ९ लाख २४ हजार मुल्य बराबरको अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
प्रहरीले गत भाद्र २५ गते देखी चलाएको मदिरा भट्टी नष्ट गर्ने अभियानका क्रममा अबैध रुपमा संचालित ४४ वटा भट्टी नष्ट गर्दा सो परिमाणको अबैध मदिरा नष्ट गरेको हो ।
१ लाख ५३ हजार ४५० लिटर कच्चा पदार्थ सहित १७ हजार १७० लिटर तयारी मदिरा नष्ट गरेको हो । सोही कच्चा पदार्थ र तयारी मदिराको मुल्य १ करोड ९ लाख २४ हजार अनुमान गरिएको बारा प्रहरीले जनाएको छ ।


यसै क्रममा कच्चा पदार्थ राखिएका १६९ वटा ड्रम, १८ थान मदिरा उत्पादन गर्ने स्वचालित मेशिन समेत बरामद गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानले जानकारी दिए ।
चाडवाड नजिकिएसँगै मदिरा उत्पादन, विक्रि वितरण र ओसार पसार बढेको पाईएपछी सोको नियमनसँगै कडाई गरिएको हो । जिल्लाका दक्षिण क्षेत्रका बारागढी ,देवताल, फेटा, प्रसौनी गाउँपालिका, महागढीमाई ,सिम्रौनगढ नगरपालिका विभिन्न स्थानमा यस अवधिमा अप्रेसन चलाईएको थियो । अभियान निरन्तर जारी रहेने पनी उनले बताए ।
बारामा प्रहरी प्रमुखका रुपमा सुरेश प्रसाद काफ्ले आएसँगै प्रहरी सक्रीयता बढेको छ । यस अवधिमा बारा प्रहरीले अबैध मदिरा भट्टी नष्ट गर्नेसँगै विभिन्न अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने काम गरेको छ ।
लागु औषध गाँजा नियन्त्रण, अबैध माल समान बरामद लगायतका काममा प्रहरीको सक्रियता देखीएको हो ।