
पुष्पराज खतिवडा
२९ असोज ,बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको मौवा देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा गएराती चोरी भएको छ । आईतबार राती सहकारी संस्थाको कार्यालयमा रहेको ३ लाख १७ हजार १९२ रुपैंया चोरी भएको संस्थाले जनाएको छ ।
बडहर्वा चोक स्थीत राधाकृष्ण लामिछानेको घरको भुँई तलामा सहकारी संस्थाको कार्यालय रहेको छ । कार्यालय भवनको पश्चिमपटीको मुख्य ढोका फोडेर भित्र पसेको चोरले कार्यालय प्रमुखको कोठमा रहेको स्टील दराज फुटाई पैसा लगेछ , संस्थाका अध्यक्ष नारायण प्रसाद घिमिरेले बताए ।


मुख्य ढोका सहित कार्यालयका दूईवटा ढोकाका ताला फुटेका छन् । त्यसपछी दराज फुटाई त्यहाँ रहेको नगद चोरी भएको छ । सोमबार विहान कर्मचारीले कार्यालय खोल्ने क्रममा घटना बारे जानकारी भएको उनले बताए ।
पछिल्लो समय बडहर्वामा चोरीका घटना बढेका छन् । गत बर्ष बडहर्वा चोकमै रहेको साना किसान सहकारी संस्थामा समेत चोरी भएको थियो । चोरले सो संस्थाबाट १२ लाख ७३ हजार ९ सय रकम चोरी लगेको थियो । पछिल्लो समय चोर समुहले स्थानिय संघ संस्था, ब्यक्तिका पसललाई निसाना बनाई रहेका छन् ।
चोरहरु रातको समयमा वित्तिय संस्थासँगै ब्यक्तिका घर धारामा जडान भएका पानी तान्ने मोटर, घरमा राखिएका मोटरसाईकल, ग्यास सिलिण्डर लगायतका सामाग्री चोरी गर्ने गरेको गुनासो दिनानुदिन बढ्दै गएको स्थानिय मुकेश लामाले बताए । ग्रामिण क्षेत्रमा प्रहरी शुरक्षा ब्यवस्था कमजोर रहेको उनले बताए ।
बडहर्वा चोकमा रहेको मौवा देवी सहकारी संस्थामा भएको चोरीको घटनाको अनुसन्धान र संलग्नको खोज तलास भैरहेको बारा प्रहरीले जनाएको छ ।