
काठमाडौँ । २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।
महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मंगलबार बसेको बैठकमा शाहले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी प्रस्ताव राख्न बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई समय दिएका थिए ।
महानगरपालिकाको समग्र विकास र व्यवस्थापनका लागि आवश्यक देखिएका कानुन तर्जुमा गर्न लागिएको हो । यसका लागि विभाग र समितिहरूबाट प्रस्ताव आएका हुन् ।
‘यी कानुनले महानगरपालिकाका वडादेखि केन्द्रसम्म सबै पदाधिकारी, अधिकारी तथा संयन्त्रको सहभागितालाई सुनिश्चित गर्छ’, मेयर शाहको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, सैद्धान्तिक सहमति लिएका विषयहरू छलफलका क्रममा एक आपसमा गाभिन सक्ने सम्भावना रहेको पनि बताए ।


बैठकमा विधायन समितिका सदस्य एवं वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले, ८ वटा कार्यविधि स्वीकृत गर्न प्रस्ताव पेस गरे । यसरी प्रस्ताव गरिएका कार्यविधिमा ‘विद्यालय शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यविधि २०८०’, ‘स्रोत शिक्षक नियुक्ति कार्यविधि २०८०’, ‘काठमाडौँ महानगरपालिका, अस्पतालहरूमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने कार्यविधि २०८०’, ‘गौरव तथा स्वर्णिम योजना कार्यविधि २०८०’, ‘टोल विकास संस्था सञ्चालन कार्यविधि २०८०’, ‘श्रम बैङ्क सञ्चालन कार्यविधि २०८०’, ‘मर्मत सम्भार कोष सञ्चालन कार्यविधि २०८०’ र ‘कन्टिजेन्सी सम्बन्धी कार्यविधि २०८०’ रहेका छन् ।
कार्यविधिमाथि थप छलफल गर्नुपर्ने कार्यपालिका सदस्यहरूबाट सुझाव आएपछि प्रस्तावित कार्यविधि संशोधनसहित पारित भएको महानगरले जनाएको छ ।