विनाेद स्पार्टाकस

महान् जनयुद्धको प्रत्याक्रमणको योजना सफल पार्न क्रान्तिकारी पङ्तिमा उचित कार्यनीतिको खोजी हुँदैथियो भने प्रतिक्रियावादी खेमामा राजा ज्ञानेन्द्रको नेतृत्वको अनुदार सामन्ती साथै दलाल पुँजीवादी र वीरेन्द्र नेतृत्वको उदार सामन्तवाद तथा दलाल तथा नौकरशाही शक्तिबीच सत्ता छिनाझम्टी चलिरहेको बेलामा दलाल तथा फासिष्ट पुँजीवादी पङ्ति रिङआउट हुँदै गैराखेको थियो ।

सत्ता छिनाझम्टी गर्नेहरुबीचको हिंसात्मक लडाईं नारायणहिटी वंशनासबाट ज्ञानेन्द्रको नेतृत्वको निरंकुश सामन्ती तथा दलाल पुँजीवादी गणतन्त्र आयो । सारमा ज्ञानेन्द्रकै नरसंहारकारी कदमबाट गणतन्त्र आएको हो । त्यसपछि दलाल पुँजीवादी सारबोकेका राजनीतिक दलहरु मिलेर लोकतान्त्रिक गणतन्त्रका लागि जनसेना र सामन्ती दलाल पुँजीवादी शक्तिले शाहीसेना लिएर संघर्ष गर्दा लोकतान्त्रिक गणतान्त्रको स्थापना भएको हो । सारमा भन्दा ज्ञानेन्द्र पनि राजा थिएन ।

राजतन्त्र सही हो भन्छन् एकखालका बुद्धि बिग्रिएका मान्छेहरु । नेपालमा शाहहरु अस्तित्वमा नहुँदा पनि थियो भन्ने ती मुर्खहरुले बुझेका छैनन् सायद । गोरखाका राजा पृथ्वीनारायण शाहाले शासकीय स्वभाव देखाएर वरपरका राज्यहरुमा आक्रमण गर्न थालेपछि गोरखा राज्य बिस्तार हुन थाल्यो । यहीक्रममा केही राज्यहरुसँगै लड्दै जाँदा अंग्रेज तथा उपत्यकाका राज्यहरु पनि जितेपछि आफ्नो राजधानी सारेपछि यो नेपाल राज्यको नयाँ आकारमा आयो । पृथ्वीनारायण शाहको मृत्यु र वीर गोर्खालीको राज्य विस्तार अभियान काँगडादेखि टिस्टासम्म भएका बेलामा दरबारीयाहरुको कलहका कारण अंग्रेजहरुसँग आफूले गर्दै नगरेको सुगौली निरिहतापूर्वक मान्नु पर्यो ।

ती नालायकी शाह वंशीय शासकलाई जंगबहादुरले अपदस्त गरिदिए । अर्थात् बन्धक बनाएर आफ्नो निरङ्कुश शासन लादिदिएपछि सारमा नेपालको राजतन्त्र अन्त्य भैसकेको थियो । जङ्गबहादुरको आफ्नै राणा वंशीय निरङ्कुश शासन राजतन्त्र जस्तै थियो । ००७ सालमा दिल्लीले झेल गरेर र कांग्रेसले जनता र योद्धाहरुलाई धोका दिएर शाह वंशीय राजतन्त्रको पुनस्थापना भएको हो । त्रिभुवन आदिकालदेखिको राजतन्त्रको प्रतिनिधि थिएनन् । दिल्लीको स्वार्थ पूरा गर्नका लागि उभ्याइएका दलाल शासक (राजा) थिए । सारमा देशमा त्यतिबेलै गणतन्त्र आइसकेको थियो ।

वि.स ०१७ सालमा त्यो पुनस्थापित विशालु राजतन्त्रले प्रजातन्त्रको हत्या गरेर निरङ्कुश निर्दलीय सामन्ती राजतन्त्र लादिएपछि देश गरिबी, अभाव, अशान्ति, असुरक्षा र दर्दनाक अवस्थामा पुग्यो । जनआन्दोलनबाट हटाइसकेको राजतन्त्रलाई बाममोर्चा र नेपाली कांग्रेसले जनतालाई धोका दिएर संविधानले बाँधेर राख्नेगरी राजालाई ठाउँ दिए तर उक्त विषाक्त राजतन्त्रले सेना प्रयोग गरेर आयोगले तयार गरेको संविधानको मस्यौदा बुटले कुल्चिएर फालेर आफूले तयार पारेको संविधान घोषणा गर्न बाध्य पार्यो । २०४८ देखि जनताका प्रतिनिधिले गर्नेगरेको कथित संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक शासन वीरेन्द्रको परिवार नै हत्या गरेर पुनः आएको ज्ञानेन्द्रको शाही दरबारले कुल्चेर संविधान खारेज गरिदियो अर्थात् संविधान बाहिरबाट शासन गर्न थाल्यो, राजतन्त्रको पूणर्तः अन्त्य भयो ।

ज्ञानेन्द्रको शासनलाई पनि राजतन्त्र भन्नेहरु छन् । धेरैले २०५८ जेठ १९ गतेको नयाँ कोतपर्वमार्फत् ज्ञानेन्द्रले हत्याएको सत्ता जङ्गबहादुरको भन्दा क्रुर र निकृष्ट खालको छ किनकि जंगबहादुरले त राजालाई बन्धक मात्र बनाएको थियो । ज्ञानेन्द्रले त राजपरिवारकै वंशनास गरिदियो । सारमा नेपालमा पुनःस्थापित शाही राजतन्त्रको अन्त्य भैसकेको थियो । ज्ञानेन्द्रले कुनै विधि र प्रक्रियामार्फत् राजकीय सत्ता हत्याएको हैन । राजतन्त्र मास्न खोज्ने विदेशी शक्ति र नेपालका दलाल भैसकेका शाही सेनाको साथले विदेशीको दलाल निरंकुश शासकको रुपमा मात्र ज्ञानेन्द्र थियो ।

ज्ञानेन्द्र को थियो ? भन्ने प्रष्ट देख्न सकिन्छ । ऊ तस्कर र दलाल पुँजीपति थियो । उसले राज्य हत्याउन सक्नेगरी शक्ति र धनदौलत जोडेको थियो । ऊ अवैध काम मात्र गर्दैनथ्यो रक्सी र चुरोट जस्ता असामाजिक वस्तु उत्पादन गरेर संविधानमाथि रहेर जनतामा वितरण गरेर नेपाली समाजलाई अधोगतितिर धकेलिरहेको थियो । मुर्ती, लागु औषधि, महिला बेचबिखन मात्र गर्दैनथ्यो, भाडाका हत्यारामार्फत् आफ्ना बिरोधिलाई सफाया पनि गर्दथ्यो । सत्ता हत्याएपछि जनताको सामूहिक हत्या र सैयौंलाई सैनिक व्यारेकमार्फत् बेपत्ता बनायो । पशुपतिभक्त महर्जनमार्फत् नारायणहीटी भित्रैबाट हत्याराहरु परिचालित गरेर सचेत तथा बिद्रोही नागरिकहरुको हत्या गरिदिन्थ्यो । यी कुनै आरोप हैनन्, सन्दर्भका तथ्यहरुबाट लिइएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय