काठमाडौं । भारतमा भएको सवारी दुर्घटनामा परी सुर्खेत चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए ।
दुर्घटनामा परी रतनका भाइबुहारी सुस्मिता नेवारको पनि मृत्यु भएको छ । बिहीबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको जानकारी आफूले पाएको अध्यक्ष विश्वकर्माले बताए । उनीहरू परिवार नै रोजगारीका लागि भारत जाने गरेका थिए ।
‘त्यहाँका कम्पनीहरूसँग समन्वय गरेर काम गर्ने गर्नुहुँदो रहेछ, यो सिजनको दसैंमा पनि उहाँको परिवार घर आएको थिएन,’ अध्यक्ष विश्वकर्माले भने । उनका अनुसार आफन्तले शव बुझ्ने तयारी गरेका छन् । अन्त्येष्टिका लागि नेपाल ल्याउने वा नल्याउने भन्नेबारे टुंगो नलागेको उनले जानकारी दिए ।