काठमाडौं । जाजरकोट र रूकुमका भुइँचालो पीडितलाई चीनको युनान प्रान्तले पनि ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँग भएको औपचारिक भेटवार्ता क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले उक्त सहयोग घोषणा गरेका हुन् ।

त्यस क्रममा सचिव निङले असल छिमेकीका हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न आफूहरू तत्पर रहेको उल्लेख गरे । युनान प्रान्तले कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरू तयार रहेको पनि उनले बताए । अध्यक्ष नेपालले सहयोगका लागि धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपालले सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो ।

भ्रमण क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाटको कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए । ‘हाम्रो पार्टीलाई चीनले महत्व दिएको पायौं,’ उनले भने, ‘भेटघाट सुरू भएको छ । नेताहरूसँग भेट्ने देश र पार्टी हितका विषय कुरा हुँदैछन् । उहाँहरूको व्यवहारले हामीलाई उत्साहित बनाएको छ ।’

बिहीबार कुङ्मिङमा ‘राजनीति दल र कृषि कोअपरेसन’ भन्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा भाग लिन एसियाका ११९ वटा पार्टीका प्रतिनिधि कुङ्मिङ आइपुगेको बताइएको छ । नेपालबाट कांग्रेस र राप्रपासहितका दलका प्रतिनिधिले पनि सम्मेलनमा सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय