
काठमाडौँ । कांग्रेस नेता नैनसिंह महरले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् ।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि सत्ताको प्रमुख घटक कांग्रेसका केन्द्रीय सदस्य महरले सामाजिक सञ्चालनकाे नियमन आजको आवश्यकता भएको बताए ।


“लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको उच्च स्थान छ । बढ्दो सूचना प्रविधिको विकाससँगै विचार अभिव्यक्तिका लागि सामाजिक संजाल प्रभावकारी माध्यमका रुपमा स्थापित छन् । यिनिहरुको नियमन आजको आवश्यकता हो । तर नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रताका स्थापित अन्तर्राष्ट्रिय सीमा विपरीत मात्र होइन हाम्रो संविधानको परिकल्पना विपरीत छ,”उनले लेखेका छन् ।
सरकारले टिकटक बन्द नभई समग्र सामाजिक सञ्जालको उचित र प्रभावकारी नियमनमा ध्यान दिनुपर्ने महरकाे भनाइ छ । “सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न उचित र प्रभावकारी नियमन आवश्यक छ । नियमन गर्ने नाममा सामाजिक सञ्जालबन्द गरिनु गलत हो । यसरी टिकटक बन्द गरिनुको पछाडि सरकारको नियत के हो भन्ने यक्षप्रश्न हो,” उनले भने ।