काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मंसिर ७ गते हुने पार्टीको युवा–विद्यार्थीको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न निर्देशन दिएका छन् । पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार पार्टी कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले निषेधित क्षेत्र नतोड्न र सरकारले प्रदर्शनका लागि कुनै स्थल तोक्यो भने त्यहीँ मात्र प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।
‘एउटा कुरा म साथीहरुलाई भन्न चाहन्छु, हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधाज्ञा तोड्दैनौं, कुनै समय त्यस्तो आउन सक्छ कालान्तरमा’, उनले भने, ‘आन्दोलनका क्रममा के हुन्छ त्यो बेग्लै कुरा हो । आज निषेधाज्ञा तोडिँदैन, सरकारले स्थल विशेष हामीलाई तोक्यो भने हामी त्यही स्थल विशेषमा केन्द्रित हुनसक्छौं । जुन रुट सरकारले भन्छ त्यो रुटमा हामी चल्न सक्छौं, अहिले अवज्ञा गरेर जानपर्ने खालको स्थिति होइन ।’
अध्यक्ष ओलीले सकेसम्म राता टोपी लगाएर र हरेकले झण्डा बोक्नु राम्रो हुने बताए । प्रदर्शनमा कसैप्रति जाइ नलाग्न र संयमित हुन पनि उनले निर्देशन दिए ।
‘हामी कसैसँग जाइलाग्ने नीति लिँदैनौं । हाम्रो अत्यन्तै संयमित ढंगले तर अलि जोशिलो, आक्रामक होइन, हामी कुनै ताडफोड गर्दैनौं । तोडफोड नगरी, आक्रामक नभई जोशिलो प्रदर्शन यसपल्ट गर्छौं । आफ्नो सुरक्षा आफै गर्छौं । अरु धेरै भर पर्दैनौं, त्यो कुरा हामीले बुझ्याछौं’, उनले भने ।