
सिन्धुली । कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको भन्दै त्यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् ।
कांग्रेस सिन्धुलीद्वारा शुक्रबार सदरमुकाम माडीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता निधिले राजतन्त्र फर्कन्छ भन्ने निरर्थक हल्लाका पछाडि लाग्न नहुने भन्दै निधिले एजेण्डाविहीन मुद्दामा चासो राख्नु जरूरी नभएको बताए ।


संघीयता विरोधी शक्तिहरू सल्बलाउन थालेको भन्दै कांग्रेस नेता निधिले कांग्रेससहित अन्य दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ बनाउनका लागि बाँकी कामलाई मूल एजेण्डा बनाउनु पर्नेमा जोड दिए ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधानमा उल्लेख गरिएका कानुन बनाउनु पर्ने तथा विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्नुपर्ने उनले बताए ।
सिंगो मुलुक यी तीन वटा कामका लागि तयार हुनुपर्ने भन्दै यसलाई कांग्रेसले आफ्नो एजेण्डा बनाउने पनि उल्लेख गरे ।