
पुष्पराज खतिवडा
४ मंसिर ,बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को उचिडीमा रहेको फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड मनहर्वा शाखामा गएराती चोरी भएको छ ।
स्थानिय वेदरमण भट्टराईको घरमा रहेको कार्यालयको मुल गेटको ताला फोडी भित्र पसेको चोर समुहले कार्यालयमा रहेको एकथान प्रिन्टर र सिसिटिभि क्यामराको डिभाईस चोरी लगेको कार्यालयले जनाएको छ ।


कार्यालयमा नगद थिएन । कार्यालय भित्रका ५ वटा ढोकामा लगाईएको ताला, कोठामा भएको १ थान दराज, २ थान सिसिटिभी क्यामरा फुटाइएको छ । यस्तै कार्यालय प्रमुखको कोठामा भएको एकथान म्युजिक सिस्टम समेत चोरी भएको कार्यालय प्रमुख अनिल प्रसाद रौनियारले जानकारी दिनु भयो ।
गत सुक्रबारबाट तिहार तथा छट पर्वको विदा थियो । विदाको समयमा कार्यालयमा कोही नभएको मौकाछोरी चोरी भएको र सोमबार बिहान कार्यालय खोल्न कर्मचारी आउँदा कार्यालय खुल्लै देखेपछी घटना जानकारीमा आएको हो, रौनियारले बताउनुभयो ।
पछिल्लो समय वडा नं.१८ मा चोरीका घटना बढेका छन् । स्थानिय वित्तिय संस्थामै चोरले निसाना बनाउने गरेको पाईएको हो । गतबर्ष स्थानिय साना किसान सहकारी संस्था लिमिटेडमा चोरी भएको थियो ।
यस्तै गएको असोज २८ र कार्तिक २१ गते राती स्थानिय मौवादेवी बचत तथा ऋण सहकारी संस्थामा दुईपटक चोरी भयो । चोर समुहले साना किसान र मौवादेवी गरी करिब १६ लाख रुपैंया चोरी लगे । ती घटना संलग्नको पहिचान नहुँदै फरवार्ड लघुवित्तमा फेरी चोरी भएको हो ।
चोरीका घटनाका कारण मनहर्वा, बडहर्वा आसपासका वित्तिय संस्थामा जोखिम बढाएको छ । वडा नं.१८ को बडहर्वा र उचिडीमा मात्रै एकदर्जन वित्तिय संस्था र तिनका शाखा कार्यालय संचालनमा छन् ।
चोर समुहले लामो समय देखी यस क्षेत्रमा स्थानियका मोटरसाईकल, पानी तान्ने मोटर लगायतका सामाग्री चोरी गर्दै आएपनि चोर पक्राउ पर्न नसक्नु दुखद् भएको वडा नं.१८ उचिडीका स्थानिय पदम प्रसाद न्यौपाने (घण्टी बाजे)ले बताउनु भयो ।