
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा सुतेको कोठाबाट निकालेका छन् ।
होटेलमा सुतिरहेका बेला मध्यरातमा मानवीय संवेदना भुलेर बाहिर निकाल्न खोजिएको भन्दै युवा संघको आलोचना भइरहेको छ । सो प्रकरणमा मोरङबाट काठमाडौँ आएको बताउने सिर्जना राई बोलेकी छन् । बुधबार दुर्गा प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलनमा राईले एमालेको कार्यकर्ताहरूले गएराति १० बजेको समयमा लुगा पनि लगाउन नदिई बाहिर निकालेको आरोप लगाइन् ।


‘हामी महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ । ३०–३५ जनाको झुण्ड आयो । भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो’, उनले आक्रोश पोखिन् । लघुवित्तले मार्न आँट्यो, यसै मरौँला, उसै मरौँला भनेर काठमाडौँ आएको भन्दै उनले काठमाडौँमा झन्डै इज्जत लुटिएको बताइन् ।
पत्रकार सम्मेलनमा उनको भनाइ जस्ताको जस्तै :
मेरो नाम सिर्जन राई हो । मोरङबाट आएको हो । माइक्रोफोन समातेर अहिलेसम्म बोलेको छैन । म सत्य मात्रै बोल्छु । छातीमा हात राखेर कसम खान्छु । लघुवित्त र सहकारीले गर्दा पीडित भएर निस्किएको हो । सत्य के हो, असत्य के हो ? कांग्रेस र एमालेलाई पनि भोट हाल्यौँ । रातभरि भोट माग्न हिँडेको मान्छे । प्रचण्ड जस्तै जंगल–जंगलमा हिँड्यौँ । आज हामी आफ्नै ठाउँमा दुःख, सुख भोग्दै गर्दा लघुवित्तले मार्न आँट्यो । दुर्गा दाई नै सत्य रहेछ भनेर लायो । गरिबको लागि सत्य रहेको रहेछ । हामी बाच्न चाहन्छौँ । हामीले ऋण खाएको हो । हामीलाई गास बास र कपास दिने सरकारले हामीलाई नै रोडमा निकालेको छ । जसरी नि मर्ने नै हो भनेर काठमाडौैं आएको हामीलाई एमालेको झोलेहरूले राति १० बजेको बेला आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले । हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ । ३०÷३५ जनाको झुन्ड आयो । भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो । तर, तिनीहरूसँग भागेर जाँदैनौँ । नेपालका नारीको अस्तित्व कसले जोगाउने ? अस्मिता जोगाउन सडकमा निस्कियौँ । एउटा भाईले भन्यो, दिदी नमस्कार । उसले त्यो दिदीलाई कपडा त लगाउन देऊ भन्यो । पाँच मिनेटमा निक्ली भनेर धम्की आएपछि सडकमा निस्कियौँ । प्रशासनलाई खबर गर्न सफल भयौँ । पछि प्रहरी आए । प्रहरीले होटेलमा पुर्याए । यो नेपालमा हामी महिलाको सुरक्षा रहेनछ भन्ने लाग्यौँ । हामी महिला जाग्यौँ भने यो देश हामी बनाउँछौँ । पद पाएर बसेको सरकारले हाम्रो शब्द सुनिदिनुर्पयो । त्यो गुन्डाहरूको होइन । हामी गरिबको शब्द सुनिदिनुर्पयो ।’