कास्की । भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो ।
कृषि तथा पशुपंक्षीका क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरूप भारतले दिएकामध्ये सात राँगा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरा ल्याइएका राँगालाई २१ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्र वीर्य उत्पादन सिकाइ सुरू हुनेछ । राँगाबाट आगामी पुसदेखि वीर्य सङ्कलन सुरू गरिने पाण्डेले बताए ।
एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले जनाएको छ । भैंसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख पाण्डेले बताए ।
भारतले दिएका मुर्रा राँगा नेपालगञ्जस्थित रूपैडिया नाकाहुँदै स्वदेश ल्याइएको हो । उच्च नश्लका मुर्रा भैंसीले रैथाने भैंसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैंसीमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो ।