खलंगा । जाजरकोटमा भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोटको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया सर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

त्रिपालमुनी बस्दै आएकी एक महिने सुत्केरी चदारा केही दिनदेखि रुघाखोकी र ज्वरोबाट ग्रसित थिइन् । चिसोले गर्दा बिरामी परेकी उनको समयमा नै उपचार नपाउँदा ज्यान गएको नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले बताए ।

उनले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी उनी बिरामी रहिछन् । हामीलाई थाह भएन । मृत्यु भइसकेपछि मात्र थाहा पायौं । चिसोले धेरै बालबालिका र सुत्केरी बिरामी परेका छन् । आमाको मृत्युपछि एक महिनाकी छोरीको बिचल्ली भएको छ ।’

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुममा गरी एक सय ५४ जनाको मृत्यु भएको छ । भूकम्पपछि त्रिपालमा बस्दै आएका १३ वृद्धवृद्धा र दीर्घरोगी, एक बालक र एक सुत्केरी गरी १५ जनाको चिसोकै कारण ज्यान गइसकेको छ ।

जिल्लाका विभिन्न स्थानमा बालबालिका, सुत्केरी र वृद्धवृद्धा बिरामी हुने क्रम बढ्दै गएको जिल्ला अस्पताल जाजरकोटमा कार्यरत डाक्टर दयाराम यादवले बताए । उनले नागरिकलाई चिसोबाट बचाउन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय