पुष्पराज खतिवडा
१२ मंसिर,बारा: रौतहटको देवाही गोनाही नगरपालिका क्षेत्रमा रहेको नविल बैंकको शाखामा डिपोजिट भौचर ब्ल्याकमा विक्रि गर्ने गरेको रहस्य बाहिर आएको छ । ग्राहकले बैंकमा पैसा जम्मा गर्न निःशुल्क उपलब्ध गराउनु पर्ने डिपोजिट भौचर ब्ल्याकमा विक्रि भैरहेको सेवाग्राहीले बताएका छन् । देवाही गोनाही नगरपालिकाले माग गरेका कर्मचारीका लागि आवेदन गर्न पुगेका यूवाले तोकिएको दस्तुर तिर्न सोमबार बैंक पुग्दा बैंकले भौचर सकिएको भन्दै फिर्ता पठाउएको थियो ।
बैंकमा डिपोजिट भौचर नभएको भनेपछी शाखा प्रमुख अमित यादवसँग बुझ्दा भौचर सकिएको र ८१ किलोमिटर पर लिन पठाएको आउन समय लाग्ने बताएपछी आफु निरास भएर फर्किएको जितपुरसिमरा उपमहानगरपालिका १८ का आशिष मगरले बताए ।
बैंकबाट बाहिर निस्केपछि बैंक आसपास रहेका ब्ल्याकरले थप पैसा दिए आफुसँग भौचर रहेको भन्दै विक्रि गर्न आग्रह गरेका थिए । तर मैले त्यसो गरिन । विभिन्न जिल्लाबाट धाएर नविल बैंकको गोनाही शाखामार्फत नगरपालिको खातामा दरखास्त शुल्क जम्मा गर्न पुगेका धेरैजनाले भौचर नपाएपछि ब्ल्याकमा भौचर किनेर दस्तुर बुझाएको सुने । आफुलाई पनि भौचर दिने तर पैसा लाग्ने भनेपछि भौचर किनेर पैसा जम्मा नगरेको उनले बताए ।
बैंकले भौचर नदिएपछि नगरपालिका एक कर्मचारीलाई शुल्कको डबल रकम र दरखास्त फारम जिम्मा लगाएर घर आँए । जम्मा गरेनी गरोस् । खाएनी खाओस् उसैले । बैंक र नगरपालिका कर्मचारी मिले जस्तै लाग्यो । बडो दुःख दिए ,उनले सुनाए ।
बैंकका देवाही गोनाही शाखाका प्रबन्धक अमित यादवले सोमबार सकिएको र मंलबार ३० वटा मात्रै रहेको बताए । कस्तो बैंक हो डिपोजिट भौचर पनि नहुने भन्ने हाम्रो प्रश्नमा उनले नगरपालिकाको खातामा रकम जम्मा गर्ने विशेष किसिमको भौचर हुने र त्यो हेड अफिसबाट आउने सुनाए । हामीले अनी त्यस्तो भौचर ब्ल्याकमा चैं पाईने रैछ त भनेर सोध्दा फोन काटे ।
यसै विषयलाई लिएर नबिल बैंकका मधेश प्रदेश प्रादेशिक प्रमुख नितिन नन्दवानासँग बुझ्दा भौचर विषेश नभएर सबै एकैखालको हुने बताए । उनले भने नबिल बैंकको भौचर देशभरी एकैखालको हुन्छ । विशेष भन्ने हुँदैन । त्यसमाथी ब्ल्याकमा भौचर भन्ने कुरा सुन्दै अचम्म लाग्यो । कर्मचारीले बदमासी गरेको हुन् भने बुझेर कार्वाही गछौं । प्रमाणका लागि सहयोग गर्नु होला ,उनले भने ।