
काठमाडौं । विगत १० वर्षदेखि नेपाली उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको युरोपियन युनियनले कालोसूचीमै निरन्तरता दिएको छ ।
इयूले विभिन्न कारण देखाउँदै नेपाली वायुसेवाहरूलाई युरोपेली मुलुकमा उडानको प्रतिबन्ध कायमै रहेको पत्र बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको हो ।
इयुले यसपटक प्राधिकरण र नेपाल वायुसेवा निगमलाई तत्काल गर्नुपर्ने कामहरूको सुझाव दिएको छ ।
१) इयुले निगमको नेतृत्व, प्रक्रिया पद्धति तथा समग्र प्रणालीमा कायपलट गरिनुपर्ने । २) निगमले एसएमएस कडाइका साथ लागू गर्नुपर्ने । ३) वार्षिक अडिटले औंल्याएका कमी कमजोरीहरूको सुधार गर्नुपर्ने । ४) अडिट चेकलिस्टको गुणस्तर सुधार गर्नुपर्ने । ५) उडान समयको निश्चितता, डकुमेन्ट व्यवस्थापन, सुझाव कार्यान्वयन जस्ता पक्षमा गम्भीर कमजोरी रहेकोले यसको सुधार गर्नुपर्ने । ६) वायुयानको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नुपर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएकोले सुधार गर्नुपर्ने ।


यससँगै इयूले नागरिक उड्डयन प्राधिकरणलाई पनि तत्काल गर्नुपर्ने कामहरू सुझाव दिएको छ ।
–सुधारात्मक कार्य योजना बनाइ सोही अनुसार सुधार गर्दै जाने ।
–अडिटका दौरानमा देखिएका कमी कमजोरीहरूको मुख्य कारण पत्ता लगाउने ।
–सो मुख्य कारणहरूको निराकरणका लागि विशेष कार्यविधि बनाइ निराकरण गर्ने ।
–यस सम्बन्धमा भएका प्रगतिहरूको समय(समयमा प्रगति विवरण पेश गर्दै जाने ।
–प्राधिकरणतर्फ भइरहेका सुधारका कार्यहरूको निरन्तरता र विशेषतः नियमन कार्यमा विस्तार, कर्मचारी व्यवस्थापन (रिक्त कर्मचारी पूर्ति समेत), आवश्यक तालिम र प्रमाणिकरण कार्यमा अझ कडाईका साथ अन्तरराष्ट्रिय स्तरको समकक्षमा पुर्याउनु पर्ने ।