
काठमाडौं । नेपाल वायुसेवा निगमको अध्यक्ष युवराज अधिकारीलाई हटाउन माग गर्दै कर्मचारीहरूले आन्दोलन गरेका छन् । तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डुबाउन खोजेको भन्दै वायुसेवा निगम कर्मचारी संघले आन्दोलन गरेका हुन् ।
आइतबार निगमको कार्यालयमा कर्मचारीहरूले अध्यक्षलाई प्रवेश निषेध गरिएको संघका अध्यक्ष मानबहादुर कुँवरले बताए । उनका अनुसार संघले अध्यक्ष अधिकारीको बहिर्गमन किन भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बोधार्थ दिएको छ । निगमको आम्दानीको प्रमुख स्रोत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको (ग्राउन्ड ह्यान्डलिङ) भूमिस्थ प्रबन्ध सेवा जोगाउन नसकेको भन्दै बहिर्गमको माग गरेका हुन् ।


यससँगै संघले निगमको अन्तरराष्ट्रिय उडानमा रहेका जहाजहरूको नियमित मर्मत सम्भारतर्फ ध्यान नदिएको, एमओआर हुँदाहुँदै एओजी गराएर तथा अनावश्यक प्रचारबाजी गरी निगमको करोडौं रकम अपचलन गरेको आरोप लगाएका छन् ।
निगमको मलेसियामा रहेको जिएसए बिक्री गर्ने कार्य गैरकानुनी रूपमा अघि बढाएको उनले बताए । मासिक ज्यालादारी र करार कर्मचारीहरू नियुक्ति गरी असल योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेकाले अध्यक्ष अधिकारीलाई हटाउन माग गरिएको उक्त बहिर्गमन पत्रमा उल्लेख छ ।
वर्षौंदेखि सञ्चालनमा नरहेको र व्यवस्थित गर्न नसकिएको ‘एननाइन एबिएक्स’ कलसाइन रहेको ट्विनअटर जहाजका साथै पाँच थान चिनियाँ जहाज र त्यसमा करोडौं मूल्यका पार्टपूर्जाहरू व्ययभार पर्ने गरी बेवारिसे अवस्था छोडिएको उनीहरूको आरोप छ ।
अध्यक्ष अधिकारीले वर्षौंअघि ‘फेजआउट’ भइसकेको बोइङ्ग ‘एननाइन एबिसी’ कलसाइन रहेको जहाजलाई पार्किङ र इन्स्योरेन्स बापत निगमलाई आर्थिक व्यवहार बढाउँदै लगेको उनीहरूको भनाइ छ ।