
जुरेली न्युज डेस्क सिमराः नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताका सेवा गर्न वरीयताले फरक नपर्ने बताएका छन्।
आइतबार मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुले चौथो वरीयामा बस्न सहमत हुनुभएछ भन्ने जिज्ञासामा यादवले जनताको सेवा गर्नेलाई वरीयताले फरक नपार्ने बताएका हुन्।


‘म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन,’ उनले भने।
उपप्रधानमन्त्री यादवले उहाँले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने व्यवस्था गरिने बताए।
उनले यसअघिको कार्यकालमा पनि राम्रै फिडब्याक आएको स्मरण गर्दै यसपालि अझै धेरै काम गर्ने उद्धेश्य रहेको बताए।
‘स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरु, उपचारकेन्द्रहरु बनाउन सकिन्छ र त्यसलाई विकास गर्दै अघि जाने हो। स्वास्थ्यको उपचार सहज रुपमा सबैको पहुँचमा कसरी पुर्याउनु नै अहिलेको ठूलो चुनौती छ,’ उनले भने।
उनले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनु आफ्नो पहिलो दायित्व रहेको बताए। -न्युज एजेन्सी नेपालबाट