
लेखक:-बिनोद स्पार्टाकस
समानता, न्याय, स्वतन्त्रताको लागि म कम्युनिस्ट भएँ, दलमा आबद्ध भएँ । सचेत, शोषित र न्यायप्रेमी नेता- कार्यकर्ताको वलिदानीपूर्ण संघर्ष र नेतृत्वको विश्वासले म पनि पेशेवर क्रान्तिकारि भएँ । वर्गसंघर्षका भट्टीहरुमा खारिंदै अघि बढ्नुपर्ने आावश्यकता र जिम्मेवारी अरु क्रान्तिकारिले झैं पुरागर्दै गएँ ।आत्मीय, पृय वीरवीरङ्गनाहरु गुमाउँदा र झन् दृढ बन्दै लाग्नुपर्ने ठानेर सहिदका सपना साकार पर्ने अरु कमरेडहरु झैं दृढ संकल्पमा रहें ।


माओवादीहरूसँग अरूको तुलना छुक्किएर पनि नगरौं । माओवादीहरू त्याग, वीरता, वलिदान र साहशका प्रतीक हुन् । देशको स्वाधिनता, जनचाको वर्गीय मुक्तिका लागि अर्थात समानता, स्वतन्त्रता र समृद्धिका लागि निस्वार्थ भएर एकदिन खर्च नगर्ने स्वार्थी पिण्डहरूलाई माओवादीहरूसँग तुलना गर्दा अन्याय हुन्छ ।
अनि आज आएर एकखालका हरिलठ्ठकहरु, नीजि स्वार्थले लिप्त घृणित व्यक्तिवादीहरु, संघर्षको ईतिहास पित्को नबुझेका बुज्रुक अनि हत्यारा र मतियारहरु मलाई र हामी सबैलाई नै ती वीरवीरङ्गनाको हत्यारा सावित गर्ने निन्दनीय अभिव्यक्तिहरु समाजमा व्याप्त बनाउने अभिप्रायले बधनियतपूर्ण व्यवहार गरिरहेका छन् । यस्ता दुष्टहरुको प्रतिरोध गर्नु हामी क्रान्तिकारिको कर्तव्य र जिम्मेवारी दुबै हो ।
अहिले क्रान्तिकारि आन्दोलनबाट बाटो मोडेकाहरुले उक्त जिम्मेवारी पूरा गर्दैनन् । झन् हत्यारा दुस्मन वा जनयुद्ध बिरुद्ध प्रतिकारका नाममा जुध्नेहरुकै कित्तामा पुगेकाले त दासता सहेर त्यस्ता घृणित आरोप सहेर र अझ सहि थापेरै बसेका छन् । जो प्रतिरोध गर्ने नैतिक जिम्मेवारिबाट पन्छिएका छन्, उनीहरुप्रति पनि निन्दा गर्दछु र घृणाभाव प्रकट गर्दछु ! सर्वहारा वर्गलाई निशस्त्र बनाउने, सर्वहारा गर्गको जुझारू र संगठित दललाई छिन्नभिन्न बनाउनेहरूले आफूलाई कम्युनिस्ट भन्नू वर्गघात र गद्दारी हो । अझ आफूलाई क्रान्तिको नेतृत्वकर्ता हुँ भन्छन् भने ती वेईमानहरू फेरि पनि सर्वहारा तथा श्रमजीवी जनतालाई झुक्याउने व्वाँसाहरू हुन् ।
एकखालका कुबुद्धिका भाँडहरुलाई प्रश्न-
माओवादीले जनयुद्ध गरेर १७ हजार मारेको भन्नेले जनआन्दोलनको नेतृत्व गर्ने कांग्रेसले पटकपटक सशस्त्र बिद्रोह र जनआन्दोलन गर्दा सहादत हुनेहरुलाई कांग्रेसले मारेको भन्छन् कि भन्दैनन् होला ?
र, बामाले अनि अरुहरुले आजसम्म राजनीतिक परिवर्तनका लागि गरिएका प्रयासमा ज्यान दिंदा तिनै सहादत हुनेलाई दोष थोपर्दा कत्तिको न्यायपूर्ण कुरा गरें झैं ठान्दा हुन् ? माओवादी आन्दोलनका कोही अहिले बाहिरिएर जनयुद्ध बेक्कारको थियो र परिणाम पनि केही दिएको छैन भन्नेहरूका काखमा लुटपुटिन पुगेका छन् । उनीहरूका मालिकले १७ हजार माओवादीले मारे भनेको सहि थाप्न पुगेका छन् । उनीहरूलाई पनि प्रश्न हो यो ! के माओवादीले अर्थात तिमीहरूले १७ हजार मारेकै हौ त ?
अहिले हाम्रो जिम्मेवारी बदलिएको छ । वर्गवैरीहरुको प्रतिरोध गर्न हामी लाल र निपूर्ण हुनु आवश्यक हुन्छ । हामी आलोचत अझ आत्मआलोचित हुनु आवश्यक छ जुन अध्ययनशील मानिसले मात्र आलोचना गर्ने क्षमता राख्दछ । वर्गप्रति ईमानदार रहेको कुरा बारम्बार परिक्षण गरेर जनतालाई विश्वस्त बनाईराख्नु पर्छ । मुलतः क्रान्तिकारि हुनुपर्दछ ताकि रुढिवादी, परम्परावादी, धार्मिक साथै बुर्जुवा र सामन्ती संस्कार बदल्ने प्रयत्नमा रहनु पर्दछ । यसका साथै जुनसुकै वाहानामा पनि साधा जीवन, उच्च बिचार र कठोर संघर्षको लागि आफूलाई तयार गर्नु पर्दछ । आफ्ना मूल्य र मान्यतामा दृढ तथा निश्चिन्त हुनुपर्दछ ।
वर्गीय पीडा भोगेका मानिस अचेत भए दास र सचेत भए बिद्रोही हुन्छन् र द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको अध्ययन गर्न पायो भने उनीहरु साम्यवादी हुन्छन् । यहाँ त अध्ययन गर्न पाएको अवस्थाका मानिस पाउनै गारो छ र त पटकपटक भएका बिद्रोह र क्रान्तिहरु अवशरवादमा पतन हुनेगरेका छन् । यही अवस्थाले गर्दा आन्दोलनको बीचबाट नै अवशरवाद पलाउने गरेको छ ।
हामीले त सबै कुरा त्यागेर क्रान्तिकारि हुनुछ । मानिस पुराना आदत, सामन्ती तथा धार्मिक परम्परा तथा संस्कार बदलेर नै क्रान्तिकारि हुने हो । मुख्यतः आफू अर्को अवस्थामा पुग्नुपर्छ अर्थात महाविपत्ति झेल्दै रुपान्तरणको लागि पहल लिनु पर्दछ । बदल्नका लागि सचेत पहल आफैंले लिनुपर्छ ।
एकपटक युगले सुम्पेको जिम्मेवारी पूरा गर्ने हिम्मत गर्ने हो कि, कमरेडहरु !